काठमाडौं:- नेपाल सरकारले उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त आक्रमणको कडा निन्दा गरेको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सर्वसाधारण नागरिकलाई लक्षित गरी गरिएको अन्धाधुन्ध आक्रमण अस्वीकार्य भएको उल्लेख गरेको छ। मन्त्रालयले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन तथा संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय कानुनअनुसार सर्वसाधारण नागरिक र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सबै परिस्थितिमा जेनेभा महासन्धि तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण सम्मान र कडाइका साथ पालना गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, मृतकको शव यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाउन तथा परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको जनाएको छ।

