काठमाडौं :-मुलुकका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएको छ। काठमाडौं उपत्यका बाहिरका पहाडी तथा तराईका जिल्लामा उपभोक्ताले ग्यासका लागि घण्टौं लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको भन्दै विक्रेता र उपभोक्ताले गुनासो गरेका छन्।

सरकारले सबै उपभोक्तालाई समान रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले लागू गरेको ‘आधा सिलिन्डर’ नीतिले समस्या समाधान गर्नुको सट्टा झन् जटिल बनाएको व्यवसायीहरूको आरोप छ। अमेरिका–इजरायल र इरानबीचको तनावका कारण इन्धन आपूर्तिमा जोखिम बढ्न सक्ने भन्दै नेपाल आयल निगमले गत फागुन २९ गतेदेखि ७.१ किलो ग्यास भरेर वितरण गर्ने व्यवस्था लागू गरेको थियो। सुरुमा १५ दिनका लागि ल्याइएको व्यवस्था तीन महिना बितिसक्दा पनि यथावत् रहेको छ।
नेपाल ग्यास बिक्रेता महासंघका अनुसार आधा सिलिन्डर नीतिका कारण ढुवानी खर्च बढेको, उद्योगसँग पर्याप्त स्टक नभएको तथा टाढाका जिल्लामा आपूर्ति गर्न कठिनाइ हुँदा बजारमा अभाव देखिएको हो। महासंघले अहिले देखिएको समस्या कृत्रिम अभाव नभई प्राविधिक तथा व्यवस्थापकीय चुनौतीको परिणाम भएको जनाएको छ।

जनकपुर, सर्लाही, गुल्मी, सुर्खेत, सल्यानलगायत जिल्लामा उपभोक्ताले ग्यास अभावको समस्या झेलिरहेका छन्। जनकपुरका विक्रेताहरूले उद्योगबाट ग्यास आपूर्तिमा ढिलाइ हुँदा उपभोक्ता र विक्रेता दुवै दबाबमा परेको बताएका छन्।
पहाडी जिल्ला गुल्मीमा भने आधा सिलिन्डर नीतिले थप समस्या सिर्जना गरेको व्यवसायीहरूको भनाइ छ। प्रेसर कम हुने भएकाले सिलिन्डरमा रहेको सबै ग्यास प्रयोग गर्न नसकिएको र होटल, रेस्टुरेन्ट तथा साना उद्योगहरू समेत प्रभावित भएको उनीहरूको गुनासो छ।
सुर्खेतमा ग्यासको माग दोब्बर भएको बताउँदै विक्रेताहरूले आधा सिलिन्डरका कारण पहिलेकै माग धान्न दोब्बर सिलिन्डर आवश्यक पर्ने तर उद्योगसँग पर्याप्त ढुवानी साधन नहुँदा समस्या चर्किएको बताएका छन्।

नेपाल एलपी ग्यास उद्योग संघले भारतबाट ग्यास आयात नियमित भइरहे पनि उच्च ढुवानी लागतका कारण विशेषगरी पहाडी र दूरदराजका जिल्लामा आपूर्ति प्रभावित भएको स्वीकार गरेको छ। संघका अनुसार आधा सिलिन्डर नीतिका कारण उद्योगी र डिलर दुवै आर्थिक रूपमा प्रभावित भएका छन्।
यता नेपाल आयल निगमले भने ग्यास आपूर्तिमा कुनै कटौती नभएको स्पष्ट पारेको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार निर्धारित कोटाअनुसार नै ग्यास आयात भइरहेको छ र बजारमा देखिएको समस्या उद्योगी तथा वितरकबीचको व्यवस्थापनसँग सम्बन्धित हो।
आयल निगमले ग्यासको माग घटेको दाबी गरिरहे पनि नेपाल ग्यास बिक्रेता महासंघले त्यसलाई अस्वीकार गरेको छ। महासंघका अनुसार उपभोक्ताले पूर्ण सिलिन्डरको प्रतीक्षामा खाली सिलिन्डर घरमै राखेकाले खपत घटेको देखिएको हो, वास्तविक माग भने यथावत् रहेको छ।
एकातिर आयल निगम पूर्ण सिलिन्डरमा फर्किन तयार नदेखिनु र अर्कोतर्फ उद्योगी तथा ढुवानीकर्ताले आधा सिलिन्डरको आर्थिक भार थेग्न नसक्नुले बजारमा ग्यास संकट थप गहिरिँदै गएको छ। यसको प्रत्यक्ष असर भने दैनिक उपभोगका लागि ग्यासमा निर्भर सर्वसाधारण उपभोक्ताले भोगिरहेका छन्।

