बुटवल : नेपाली कांग्रेस सैनामैना नगर सभापति पदका लागि विमल ज्ञवालीले उम्मेदवारी प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका ज्ञवालीले संगठन सुदृढीकरण, युवा सहभागिता र पार्टीभित्रको एकतालाई मुख्य एजेन्डा बनाउँदै नगर सभापतिमा आफ्नो दाबी अघि सारेका हुन्।

राजनीतिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका ज्ञवालीले नगर तहमा पार्टी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
नेपाल विद्यार्थी संघका पूर्वक्षेत्रीय सभापति रहेका ज्ञवालीले नेपाल तरुण दलको जिल्ला कार्यसमिति सदस्यका रूपमा समेत काम गरिसकेका छन्। त्यसपछि नेपाली कांग्रेस सैनामैना नगर सदस्य हुँदै सैनामैना नगरपालिका–२ को वडा सभापतिको जिम्मेवारीसमेत सम्हालेको उनको राजनीतिक पृष्ठभूमि छ।

राजनीतिसँगै सामाजिक संघसंस्थामा पनि उनको संलग्नता रहँदै आएको छ। उनी रोटरी क्लब अफ तिलोत्तमाका संस्थापक सचिव, सैनामैना जेसीजका पूर्वअध्यक्ष तथा नेपाल जेसीजका पूर्वराष्ट्रिय उपाध्यक्ष हुन्।
शैक्षिक क्षेत्रमा ज्ञवाली कालोनी कान्तिपुर इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल हुन्। उनी सैनामैनामा व्यावसायिक गतिविधिमा समेत संलग्न छन्।
नगर सभापतिमा निर्वाचित भए वडा तहदेखि नै पार्टी संगठनलाई सक्रिय बनाउने, युवालाई संगठनमा जोड्ने र नेता–कार्यकर्ताबीचको सम्बन्धलाई मजबुत बनाउने उनको योजना छ। पार्टीभित्र एकता, सहकार्य र समन्वय कायम गर्दै संगठनलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।
ज्ञवालीले नगर सभापतिमा निर्वाचित भए आफ्नो कार्यकालभर लाभको पद नलिने र जनप्रतिनिधिका रूपमा कुनै पनि निर्वाचनमा उम्मेदवारी नदिने प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन्।
उनले राजनीतिक संगठनमा प्राप्त अनुभवसँगै सामाजिक, शैक्षिक र व्यावसायिक क्षेत्रको अनुभवलाई पार्टी संगठन निर्माणमा उपयोग गर्ने लक्ष्य रहेको बताएका छन्।
नगर सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै ज्ञवालीले आफ्ना संगठनात्मक प्राथमिकता र व्यक्तिगत प्रतिबद्धता सार्वजनिक गरेका हुन्। कांग्रेस सैनामैनाको आगामी नेतृत्व चयन प्रक्रियामा अन्य उम्मेदवारको दाबी र निर्वाचन कार्यतालिकाबारे भने थप विवरण आउन बाँकी छ।

