बुटवल :- अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर बुटवलमा युवाहरूले सेन्ट्रल पार्क तथा आसपासको क्षेत्र सरसफाइ गर्दै वातावरण संरक्षणको सन्देश दिएका छन्।

‘हरित पृथ्वीका लागि युवा सहभागिता’ भन्ने नारासहित लायन्स क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजनामा बुटवल उपमहानगरपालिका–३, गोलपार्कस्थित सेन्ट्रल पार्क क्षेत्रमा सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रम गरिएको हो।
कार्यक्रममा पार्क तथा गोलपार्क क्षेत्रमा निर्माण गरिएको डिभाइडरको हरियाली क्षेत्रमा रहेका फोहोर तथा अनावश्यक झारपात हटाइएको थियो। त्यसैगरी रोपिएका बिरुवाको गोडमेल, काँटछाँट तथा आवश्यक व्यवस्थापनसमेत गरिएको आयोजकले जनाएको छ।

सार्वजनिक स्थलको सरसफाइसँगै हरियालीको संरक्षण र संवर्द्धनमा युवाको सक्रिय सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा लायन्स तथा लियो क्लबका पदाधिकारी, सदस्य र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी युवाहरूले सेन्ट्रल पार्कलाई एकपटक सरसफाइ गरेर छाड्नेभन्दा पनि नियमित हेरचाह, संरक्षण र सौन्दर्यीकरण आवश्यक रहेको बताएका थिए। उनीहरूले सार्वजनिक सम्पत्ति संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायको निरन्तर सहकार्य हुनुपर्नेमा जोड दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स इन्टरनेशनल ३२५ पी नेपालका पीडीजी एमजेएफ पुरुषोत्तम भक्त प्रधानाङ्गले वातावरण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा युवाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सेन्ट्रल पार्कजस्ता सार्वजनिक स्थलको सरसफाइ र हरियाली संरक्षणलाई एकदिने कार्यक्रममा सीमित नगरी निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

लायन्स इन्टरनेशनल ३२५ पी नेपाल रिजन–११ की रिजन चेयरपर्सन रीतु गुरुङले युवालाई सामाजिक सेवासँग जोड्दै वातावरण संरक्षणमा उनीहरूको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले सरसफाइसँगै युवामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्याउँछ।
त्यसैगरी जोन चेयरपर्सन थानेश्वर अर्यालले वातावरण संरक्षण सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै सार्वजनिक स्थलको नियमित सरसफाइसँगै संरक्षण, अनुगमन र आवश्यक मर्मत–सम्भारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो।
लायन्स क्लब अफ बुटवल सेन्ट्रलका पूर्वअध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ पी नेपालका डेपुटी ट्रेजरर बल्दर गोदारले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनुभयो। उहाँले लायन्स अभियानलाई वातावरण संरक्षण र युवाको सामाजिक सहभागितासँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमको अध्यक्षता गरेका लायन्स क्लब अफ बुटवल सेन्ट्रलका प्रथम उपाध्यक्ष उमेशचन्द्र शर्माले युवाको ऊर्जा र सिर्जनशीलतालाई सामाजिक तथा वातावरणीय अभियानमा परिचालन गर्नुपर्ने बताउनुभयो। सेन्ट्रल पार्कको स्वच्छता र हरियाली कायम राख्न स्थानीय समुदाय, संघसंस्था र सम्बन्धित निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रम संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष रामबहादुर रसाइलीले अन्तर्राष्ट्रिय युवा दिवसलाई वातावरण संरक्षणसँग जोडेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार सेन्ट्रल पार्क तथा आसपासको सार्वजनिक क्षेत्रलाई स्वच्छ, सुरक्षित, हरित र व्यवस्थित बनाउन आगामी दिनमा पनि नियमित सरसफाइ तथा संरक्षण अभियान सञ्चालन गरिनेछ।
कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ बुटवल सेन्ट्रलका सचिव लियो लायन हिमाल खनालले गर्नुभएको थियो।
युवाको नेतृत्व र सामाजिक उत्तरदायित्वलाई वातावरण संरक्षणसँग जोडिएको उक्त अभियानले सार्वजनिक स्थलको संरक्षणमा समुदायको भूमिका र युवाको सक्रियताको आवश्यकता औँल्याएको छ।

