
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने चेतावनी दिए।
अध्यक्ष प्रचण्डले विधेयक संसदमा दर्ता गर्न चुनौतीपूर्ण भए पनि उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, “मुख्य कुरा इच्छाशक्तिको हो। शिक्षा र शिक्षकको विषय सरकारको प्राथमिकतामा नपर्दा ढिलाइ भएको हो।”

शिक्षाका विषयमा सरकारको एकरूप दृष्टिकोण नहुनु देशको विकासमा बाधा बनेको उल्लेख गर्दै उनले भने, “शिक्षा भौतिक पूर्वाधारको पनि पूर्वाधार हो। विकासले गति नलिनु, अराजकता फैलिनु र नैतिक मूल्यमा ह्रास आउनु शिक्षाबारे सही बुझाइ नहुनु हो।”
शिक्षक महासंघका प्रतिनिधिहरूले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराउने भूमिका माओवादी नेतृत्वकै रहेको उल्लेख गर्दै यसलाई पारित गराउन दबाब दिन आग्रह गरे। “डु एण्ड डाइको अवस्थामा छौं। विगतमा पनि शिक्षकका मागमा माओवादी र प्रचण्डले काँध थाप्नुभयो। यसपटक पनि काँध थाप्न अनुरोध छ,” शिक्षक महासंघका प्रतिनिधिहरूले भने।
अध्यक्ष प्रचण्डले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै स्थानबाट पार्टीले सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाए।