काठमाडौंमा भव्य ‘२६ औं फ्लोरा एक्स्पो २०८१’ सुरु

Deurali Darshan Media
Deurali Darshan Media 1.2k Views 2 Min Read

काठमाडौं :— पुष्प व्यवसायको प्रवर्द्धन र व्यावसायिक विकासलाई लक्ष्य गरी काठमाडौंको भृकुटीमण्डपमा ‘२६ औं फ्लोरा एक्स्पो २०८१’ भव्य रूपमा सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नाराका साथ सुरु भएको यस एक्स्पोमा ८२ वटा आकर्षक स्टलहरू राखिएका छन्।

शुक्रबार आयोजित उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्मा ले संघीय संरचनामा गएपछि पुष्प व्यवसायमा आएको गिरावटप्रति चिन्ता व्यक्त गर्दै नीति सुधार आवश्यक रहेको बताए। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठ ले संघीयतापछि स्थानीय तहमा हस्तान्तरण गरिएका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन नहुँदा व्यवसायमा समस्या आएको उल्लेख गरे।

फूल र बोटबिरुवाको प्रदर्शनी र प्रतिस्पर्धा
एक्स्पोमा विभिन्न नर्सरी व्यवसायीहरूले उत्पादन गरेका गुणस्तरीय फूल र आलंकारिक बोटबिरुवा प्रदर्शन गरेका छन्। उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्न विभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ।

उत्कृष्ट स्टल – अजिमा नर्सरी

उत्कृष्ट आलंकारिक बिरुवा – थापा नर्सरी

उत्कृष्ट फूल्ने बिरुवा – उदय गार्डन सेन्टर

उत्कृष्ट मौसमी फूल – बस्नेत नर्सरी

उत्कृष्ट पुष्प सजावट – महालक्ष्मी फ्लावर एण्ड डेकोर

उत्कृष्ट कट फ्लावर (जर्बेरा) – एभरेस्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्म

उत्कृष्ट कट फ्लावर (कार्नेशन) – रामकोट फ्लोरल एण्ड एग्रो फार्म

उत्कृष्ट कट फ्लावर (गुलाब) – एभरेस्ट फ्लोरल एण्ड एग्रो प्रा.लि.

पारिजात नर्सरीलाई विशेष सम्मान
विगत ४० वर्षदेखि पुष्प व्यवसायमा योगदान पु¥याएको ललितपुरको गोदावरी नगरपालिका-४ स्थित पारिजात नर्सरी लाई विशेष सम्मान प्रदान गरिएको छ। उनलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

६० हजार अवलोकनकर्ता र करोडौंको कारोबारको अपेक्षा
आयोजकका अनुसार एक्स्पो अवधिभर करिब ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने र १ करोड बढीको कारोबार हुने अनुमान गरिएको छ। यस वर्षको एक्स्पोले पुष्प व्यवसायलाई थप व्यावसायिक बनाउन र वातावरणीय सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

एक्स्पोमा नयाँ प्रविधिहरू, व्यवसायिक अवसरहरू र फूलहरूको विविधताले दर्शकहरूको ध्यान खिचिरहेको छ। चैत ४ गतेसम्म सञ्चालन हुने यो एक्स्पोमा पुष्पप्रेमीहरूका लागि विविध कार्यक्रम र प्रदर्शनीहरू आयोजना गरिने आयोजकले जनाएको छ।