काठमाडौंमा ‘२६ औं फ्लोरा एक्स्पो २०८१’ भोलिदेखि सुरु

Deurali Darshan Media
Deurali Darshan Media 235 Views 2 Min Read

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले ‘२६ औं फ्लोरा एक्स्पो – २०८१’ को आयोजना गर्ने भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा एक्स्पो आयोजना हुन लागेको हो।

फ्यानका अनुसार एक्स्पोमा व्यवसायिक स्टल तथा अफिसियलहरू सहित ८२ वटा स्टल रहनेछन्। नर्सरी व्यवसायीहरूले उत्पादन गरेका गुणस्तरीय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा समेत गराइनेछ। उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलंकारिक बिरुवा, फूल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (गुलाब, जरबेरा, कार्नेशन, आदि) विधामा विजेताहरूलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक रामबहादुर तामाङ (सुनिल) ले प्रतियोगितामा सहभागी नर्सरी वा फर्मले तीनवटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउने जानकारी दिए। एक्स्पोमा पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात तथा निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता कम्पनी फर्महरू तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहनेछ।

फ्यानले यस वर्ष एक्स्पोमा करिब ६० हजार अवलोकनकर्ता आकर्षित हुने र १ करोड बढीको व्यवसायिक कारोबार हुने अनुमान गरेको छ। एक्स्पो सञ्चालनमा विभिन्न संघ/संस्थाहरूको सहयोग रहनेछ। यस वर्षको एक्स्पोमा साईमेक्स प्रा.लि. (बी वाई डिको आधिकारिक बिक्रेता), नेपाल डेरी प्रा.लि., प्रारम्भ बायोटेक, र पान अमेरिकन सीड मुख्य प्रायोजकका रूपमा रहेका छन्। साथै, वरिष्ठ हास्य कलाकार हरिबंश आचार्य अभिनित चलचित्र ‘भुठान’ समूहले समेत पुष्प मेलाको प्रचारप्रसारमा सहयोग गरेको छ।

मेलाको भव्य सजावटमा विभिन्न नर्सरी तथा कट फ्लावर व्यवसायीहरूको समेत सहयोग रहने फ्यानले जनाएको छ।

– निराज रानाभाट, काठमाडौं