
धनगढी :– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा प्रवेश गर्न चुनौती दिएका छन्। सुदूरपश्चिम प्रदेश सभाको १७औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति चासो जनाउँदै भने, “फागुन ६ गते पूर्वराजाको कुरा सुन्दा अचम्म लाग्यो। मलाई साथ दिनुस्, म आउँछु, देश बनाउँछु, देश के भएको छ?”
उनले पूर्वराजा शाहलाई राजनीतिमा आउने चुनौती दिँदै भने, “राजनीतिमा आउनुहुन्छ भने स्वागत छ, तपाईंको उमेदवारीको लागि साथ माग्न पाइन्छ। तर, अराजनीतिक कुरा गरेर देशमा अस्थिरता ल्याउन पाइँदैन।” उनले यो अस्थिरताका क्रियाकलापले देशलाई सभ्य र सुसंस्कृत ढंगले अघि बढ्न दिन्न भन्दै देशको विकासका लागि सबैको सहकार्यको आवश्यकता औँल्याए।

प्रधानमन्त्री ओलीले देशको आर्थिक अवस्थाबारे पनि प्रतिक्रिया व्यक्त गर्दै भने, “अर्थव्यवस्था नाजुक थियो, तर यो वर्ष ३० प्रतिशत बढी राजश्व संकलन गर्ने लक्ष्य राखेका छौं। अर्थव्यवस्था छिट्टै लयमा आउँछ।”
उनले सरकारको भविष्यका बारेमा पनि टिप्पणी गर्दै, “अहिले सरकार ढल्ने भनी रमाउनेहरू छन्। म भने सुनिश्चित गर्न चाहन्छु कि यो सरकार २०८४ सालको चुनाव गरेर मात्र ढल्ने छ।”
