
बुटवल :– क्यान महासंघ रूपन्देहीले आगामी फागुन २६ र २७ गते बुटवलमा बिजनेस कस्टमर समिट २०२५ आयोजना गर्ने घोषणा गरेको छ। मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्यान रूपन्देहीका अध्यक्ष जीवन अधिकारीले समिटको उद्देश्य र लक्षित दर्शकवर्गका बारेमा जानकारी दिए।
अध्यक्ष अधिकारीले भने, “यो कार्यक्रम ब्रान्ड लक्षित हुनेछ, तर यसमा कुनै आर्थिक कारोबारको लक्ष्य छैन।” उनले, “सामानको जानकारी दिन टिकट लिने कुरा उचित होइन, त्यसैले प्रवेश निःशुल्क राखिएको छ।”

समिटको प्रमुख उद्देश्य आइटीका विषयमा चासो राख्ने सबैलाई एक ठाउँमा जम्मा गरेर नयाँ प्रविधि र कन्सेप्टहरूको बारेमा जानकारी प्रदान गर्नु रहेको आयोजकहरूले बताएका छन्। क्यान महासंघका केन्द्रीय सदस्य नारायणप्रसाद श्रेष्ठले नयाँ प्रविधिका बारेमा चर्चा गर्दै सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
कार्यक्रममा क्यान लुम्बिनी प्रदेशका अध्यक्ष नारायण खनाल र क्यान महासंघ रूपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईले पनि आफ्नो विचार प्रस्तुत गरेका थिए। भट्टराईले कार्यक्रमको उद्देश्य बारे चर्चा गर्दै आइटी विद्यार्थी र व्यवसायीलाई लक्षित गरेको जानकारी दिए।
आयोजकहरूले करिब ५ हजार व्यक्तिको उपस्थितिको अपेक्षा गरेका छन्। समिटले आइटीका क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूलाई नयाँ प्रविधिको जानकारी दिन र बुटवलमा त्यसको प्रचार प्रसार गर्ने उद्देश्य राखेको छ।
