
काठमाडौं :– पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको र जथाभाबी फोहोर गरेको आरोपमा काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।
गत आइतबार विमानस्थल, तिलगंगा, गौशाला लगायतका क्षेत्रमा आयोजित स्वागत कार्यक्रममा सहभागीहरूले सडक, सडकपेटी, आइल्यान्डमा रहेका बिरूवा तथा रेलिङहरूमा भौतिक क्षति पुर्याएको र फोहोर फालेर वातावरण प्रदूषण गरेको आरोप महानगरपालिकाले लगाएको हो।

महानगरपालिकाले राप्रपालाई पठाएको पत्रमा फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र आर्थिक ऐन २०८१ अनुसार जरिवाना गरिएको उल्लेख छ। उक्त पत्रमा महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगर को हस्ताक्षर छ।
महानगरका प्रवक्ता अनुसार, “कार्यक्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनुका साथै वातावरणीय स्वच्छता उल्लंघन गरिएको पुष्टि भएपछि राप्रपालाई जरिवाना गरिएको हो। जरिवाना नतिरे कानुनी कारबाही अगाडि बढाइनेछ।”
यसअघि गत मंसिर ७ गते दरबारमार्गमा नेकपा एमालेको जागरण सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई पनि जरिवाना गरिसकेको थियो।
राप्रपाले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।
