
बुटवल:– आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माहोल तातेका बेला नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा परिचित लुम्बिनी वाणिज्य क्याम्पस मा सभापति पदका लागि नेपाल विद्यार्थी संघ बाट लोकप्रिय विद्यार्थी नेता निराजन खरेल सर्वसम्मत उम्मेदवार चयन भएका छन्।
चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघले एकमतका साथ निराजन खरेललाई सभापति पदमा अघि सारेको हो। विद्यार्थीहरूमाझ लोकप्रिय र संघर्षशील नेताका रूपमा परिचित खरेललाई सभापति पदमा उठाउने निर्णयपछि समर्थकहरूमा उत्साह छाएको छ।

यस अवसरमा नेपाल विद्यार्थी संघका नेताहरूले खरेललाई बधाई दिँदै उनको जित सुनिश्चित भएको दाबी गरेका छन्। एकजना विद्यार्थी नेताले भने, “निराजन खरेल एक इमानदार, संघर्षशील र योग्य नेता हुन्। उहाँको नेतृत्वमा विद्यार्थी हकहित सुरक्षित हुनेछ भन्ने विश्वास छ।”
निराजन खरेलले आफ्नो उम्मेदवारीप्रति आभार व्यक्त गर्दै क्याम्पसभित्र विद्यार्थीका हकहितका मुद्दा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “विद्यार्थीहरूको विश्वासलाई कायम राख्दै शैक्षिक सुधार र पारदर्शिता कायम गर्न म कटिबद्ध रहनेछु।”
स्ववियु निर्वाचनलाई लिएर क्याम्पसमा उत्साहजनक माहोल छ। विद्यार्थीहरूले खरेलको जित निश्चित भएको भन्दै अग्रिम शुभकामना व्यक्त गरिरहेका छन्।
