
बुटवल :– आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर बुटवल बहुमुखी क्याम्पसमा तनाव सिर्जना भएको छ। क्याम्पस प्रशासन र निर्वाचन समितिले अपारदर्शी रूपमा मतदाता नामावली प्रकाशन गरेको भन्दै सात विद्यार्थी संगठनहरूले संयुक्त रूपमा तालाबन्दी गरेका छन्।
संयुक्त संगठनका अनुसार मतदाता नामावलीमा ४०१ जना अवैध मतदाता समावेश गरिएको छ। साथै, स्ववियु कोषको आर्थिक पारदर्शिता नहुँदा अनियमितताको आशंका पैदा भएको र स्ववियु कार्यक्रमहरू एकल विद्यार्थी संगठनलाई केन्द्रित गरेर सञ्चालन गरिएको आरोप लगाइएको छ। निर्वाचन समितिले मनोमानी निर्णय लिएको भन्दै विद्यार्थी संगठनहरूले विरोध जनाएका छन्।

नेपाल विद्यार्थी संघ, अखिल (समाजवादी), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी), नेपाल मगर विद्यार्थी संघ, अखिल क्रान्तिकारी बहुमत र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन ले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्। उनीहरूले निष्पक्ष र पारदर्शी निर्वाचनको माग गरेका छन्।
संयुक्त संगठनका एक नेताले भने, “मतदाता नामावलीमा अनियमितता भएको प्रमाणहरू हामीसँग छन्। निर्वाचन समितिले हाम्रो मागलाई बेवास्ता गरिरहेको छ। सहमति बिना तालाबन्दी खोल्ने प्रयास गरे थप आन्दोलन गर्नेछौं।”
यसैबीच, क्याम्पस प्रशासनले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर, तालाबन्दीका कारण क्याम्पसको पठनपाठन प्रभावित बनेको छ। विद्यार्थी संगठनहरूले पारदर्शी र निष्पक्ष निर्वाचन प्रक्रिया सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
