
न्यूयोर्क :– मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्यकौशल प्रस्तुत गर्दै दुरदर्शी नेतृत्व प्रदान गरेको भन्दै अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकामा सम्मान गरिएको छ। न्यूयोर्क राज्यका एसेम्बली मेम्बर डेभिड आई. वेप्रिनले बस्नेतलाई लिखित सम्मानपत्र प्रदान गरेका हुन्।
वेप्रिनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा न्यूयोर्कबाट सञ्चालित मिडिया हाउस त्रिवेणी टाइम्सको सिफारिसमा बस्नेतलाई सम्मान गरेका हुन्। सम्मानपत्रमा वेप्रिनले उल्लेख गरेका छन्, “१५ वर्षदेखि बस्नेतको उत्कृष्ट कार्यकौशल र दुरदर्शी मिडिया व्यवस्थापनले अन्नपूर्ण मिडिया नेटवर्कलाई अग्रणी नेपाली मिडिया हाउसको रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ। यसका लागि म बस्नेतलाई सम्मान गर्दछु।”

वेप्रिनले अन्नपूर्ण मिडिया नेटवर्कलाई नेपालकै लोकप्रिय, उत्कृष्ट र प्रभावशाली मिडिया हाउस भएको उल्लेख गर्दै बस्नेतको नेतृत्वको खुलेर प्रशंसा गरेका छन्।
वेप्रिन सन् २०१० मा पहिलो पटक न्यूयोर्क राज्यको एसेम्बली मेम्बरमा निर्वाचित भएका थिए। त्यसयता उनले हरेक निर्वाचनमा विजयी हुँदै आएका छन्। हाल उनी न्यूयोर्क राज्यको इन्सुरेन्स कमिटीका अध्यक्षका रूपमा कार्यरत छन्। साथै, कमिटी अफ बैंक, कमिटी अफ जुडीसरी र एसियन प्यासेफिक अमेरिकन ट्र्याक्सफोर्सलगायतका विभिन्न कमिटीमा समेत उनी सक्रिय छन्।
मनोज बस्नेतले प्राप्त गरेको यो सम्मान नेपाली मिडिया क्षेत्रका लागि ठूलो प्रेरणा भएको बताइएको छ। बस्नेतले अन्नपूर्ण मिडिया नेटवर्कलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मिडिया क्षेत्रका विज्ञहरूले उनको प्रशंसा गरेका छन्।
