बुटवलमा व्यवसायी आन्दोलित: ठेकेदार कम्पनीको ज्यादती विरुद्ध कडा चेतावनी

Deurali Darshan Media
Deurali Darshan Media 529 Views 2 Min Read

बुटवल :- बुटवलका व्यवसायीहरू साइनबोर्ड कर उठाउने नाममा ठेकेदार कम्पनीले गरेको ज्यादतीको विरोधमा आन्दोलित भएका छन्। बुटवल उपमहानगरपालिकाले ठेक्का मार्फत लगाएको विज्ञापन करलाई अव्यवहारिक, अन्यायपूर्ण र कानुनी रूपमा त्रुटिपूर्ण भन्दै व्यवसायिक संघसंस्थाहरू आक्रोशित बनेका छन्।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र उद्योग व्यापार संघ बुटवलले संयुक्त पत्रकार सम्मेलन गर्दै ठेकेदार कम्पनीले जबरजस्ती कर असुल्ने कार्य बन्द नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

व्यवसायीहरूको पाँच बुँदे माग:

1. साइनबोर्ड करको नाममा जबरजस्ती असुल गरिएको रकम फिर्ता गरियोस्।

2. व्यवसायीहरूमाथि धम्की, दुर्व्यवहार र तोडफोड गर्ने ठेकेदार कम्पनीलाई कारबाही गरियोस्।

3. बुटवल उपमहानगरपालिकाले अव्यवहारिक कर प्रणाली खारेज गरी व्यवसायीहरूसँग परामर्श गरेर मात्र नयाँ निर्णय गरियोस्।

4. पहिलेबाट लागु भएको कर प्रणालीअनुसार मात्र कर उठाइयोस्।

5. व्यवसायिक प्रतिष्ठानको पहिचानका लागि राखिएको साइनबोर्डलाई विज्ञापन करको दायराबाट हटाइयोस्।

 

व्यवसायीहरूमाथि ज्यादतीको आरोप

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार, गणेश एण्ड सन्स कन्ट्रक्सन नामक ठेकेदार कम्पनीका कर्मचारीहरूले व्यवसायीहरूमाथि अशिष्ट व्यवहार मात्र होइन, जबरजस्ती कर असुल्न धम्की दिएको र केही ठाउँमा तोडफोड समेत गरेको आरोप छ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटाले व्यवसायीहरूसँग कुनै छलफल नगरी कर थोपर्नु अन्यायपूर्ण भएको बताए। रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले नगरपालिकाको आर्थिक ऐन विपरित ठेकेदार कम्पनीले ज्यादती गरेको भन्दै तत्काल कर असुली बन्द गर्न माग गरे।

नगरपालिकाको बचाउ

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसायीहरूको हित विपरीत कुनै निर्णय नगरिएको दाबी गर्दै कर असुली प्रक्रियालाई नियमित बनाउने प्रयास गरिएको बताए। उनले व्यवसायीहरूको मागबारे छलफल गर्न राजस्व परामर्श समितिबाट अनुगमन गर्ने र उचित निर्णय लिने प्रतिबद्धता व्यक्त गरे।

व्यवसायीहरू आक्रोशित, आन्दोलनको तयारी

व्यवसायीहरू नगरपालिकाले तत्काल ठेक्का खारेज नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। यदि माग पूरा नभए संपूर्ण व्यवसायिक प्रतिष्ठानहरूबाट विरोध प्रदर्शन र साइनबोर्ड कर तिर्ने प्रक्रियामा असहयोग गर्ने रणनीति अगाडि बढाउने चेतावनी दिएका छन्।

अब नगरपालिकाले व्यवसायीहरूको आवाज सुन्छ वा आन्दोलन चर्कन्छ? यो निकट भविष्यमा देखिनेछ।

रिपोर्ट: सुदीप ग्यावली
गुल्मी बुलेटिन, बुटवल