
बाँके, नेपाल – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन्। पेसागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनद्वारा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रियामा उनले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धन सरकार संविधान कार्यान्वयनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन प्रतिबद्ध रहेको धारणा राखे।
महामन्त्री थापाले संविधान घोषणापछि कतिपय नीति, नियमका कारण कार्यसम्पादनमा असहजता भएको भन्दै सहमति र सहकार्यका आधारमा समयसापेक्ष रूपमा संविधान संशोधन आवश्यक रहेको बताए। संविधान संशोधनको क्रममा निर्वाचन प्रणाली, सङ्घीयता, र प्रदेशका अधिकारहरूमा व्यापक छलफल हुनुपर्नेमा उनले जोड दिए। उनले भने, “कांग्रेस र एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो प्राथमिकतामा संविधान कार्यान्वयनलाई राखेको छ। यससँग जोडिएका कानुनहरू बनाउनुपर्ने अहिलेको आवश्यकता हो, ती कानुन एकदमै छिटो बनाउनुपर्नेछ, कतिपय कानुनहरू खारेज गर्नुपर्ने हुन्छ, कतिपय कानुन हाम्रो संविधानसँग बाँझिएका छन्। ती सबै विषय सहमतिका आधारमा समाधान हुँदै जानेछन्।”

कांग्रेसको नेतृत्वमा शान्ति प्रक्रिया टुङ्गोमा पुगेसँगै संविधान बनेको र कार्यान्वयन पनि भएकाले संविधान संशोधनमा पनि कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको भन्दै महामन्त्री थापाले संविधान संशोधन गर्ने क्रममा सबै दललाई समेटेर अगाडि बढ्ने धारणा राखे।
कार्यक्रममा संविधानविद् काशिराज दाहालले नागरिकस्तरबाट विशेषगरी निर्वाचन प्रणाली, समावेशिता, र प्रादेशिक संरचनाको विषयमा पुनरावलोकन तथा कामको समीक्षा गरेर संविधान संशोधन गरिनुपर्ने सुझाव आएको बताए।
यसअघि, महामन्त्री थापाले संविधान संशोधनका लागि केही दिनभित्रै नेपाली कांग्रेस र नेकपा (एमाले) ले संयन्त्र बनाउने बताएका थिए। उनले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने भन्दै सबै दलको साथ र समर्थन आवश्यक पर्ने धारणा राखेका थिए।
