प्रशासकीय अधिकृत नपठाएको भन्दै मेयर बालेनको असन्तुष्टि, प्रधानमन्त्री ओलीलाई कटाक्ष

Deurali Darshan Media
Deurali Darshan Media 455 Views 1 Min Read

काठमाडौं : – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विषयमा असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै आफूलाई “भोको पेट मारेर हराउन खोजिएको” टिप्पणी गरेका छन्।

मेयर बालेनले शुक्रबार फेसबुकमा लेख्दै भने, “हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे। मलाई हराउने ताकमा, देशलाई चाहिँ नडुबाउनु होला।”

केही महिनादेखि काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिनै सञ्चालन हुँदै आएको छ। काठमाडौं भ्यू-टावरको नक्सा पास विवादमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं मुछिएपछि उनी छुट्टीमा रहेका छन्।

आर्थिक कारोबार प्रभावित

महानगरमा कार्यकारी अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प भएको छ। करार कर्मचारीको तलब रोकिएको छ भने ठेक्कापट्टाका भुक्तानीसमेत प्रभावित भएका छन्। स्थानीय तह सञ्चालन ऐनअनुसार महानगर र नगरपालिकाका आर्थिक कारोबार प्रमुख प्रशासकीय अधिकृतमार्फत मात्र हुने कानुनी प्रावधान छ।

संघीय सरकारको भूमिकाप्रति प्रश्न

मेयर बालेनले कार्यकारी अधिकृत पठाउन संघीय मामिला तथा प्रशासन मन्त्रालयलाई केही महिनाअघि नै पत्र पठाएका थिए। तर अहिलेसम्म महानगरमा कार्यकारी अधिकृत नपठाएकोप्रति उनले असन्तुष्टि जनाएका छन्।

एक स्रोतका अनुसार, “प्रधानमन्त्रीले नियोजित रूपमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको” आरोप लागेपनि बाहिर भने “प्रशासकीय अधिकृत जान नमानिरहेको” भन्ने धारणा स्थापित गर्न खोजिएको छ।