
ललितपुर :-पछिल्लो समय विद्यार्थीहरू माझ प्रभावकारी सिकाइको माध्यम बन्दै गएको अबाकस शिक्षामा उल्लेख्य सहभागिता देखिएको छ। ललितपुरको चापागाउँ दोबाटोस्थित ब्राइट फ्युचर सेकन्डरी स्कुल एण्ड कलेजमा बाल विकास एनसिमास प्रा.लि.को आयोजनामा विद्यालय स्तरको अबाकस कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कक्षा १ देखि ७ सम्मका करिब ४ सय विद्यार्थीहरूको सहभागिता रहेको थियो। यस प्रतियोगिताबाट छनोट भएका विद्यार्थीहरूले फागुनमा हुने राष्ट्रिय स्तरको अबाकस प्रतियोगितामा भाग लिने अवसर प्राप्त गर्नेछन्।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसिमास संस्थाका सिइओ तेजु नेपालले अबाकसले विद्यार्थीहरूको एकाग्रता बढाउन र अध्ययनमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने बताए। ब्राइट फ्युचर स्कुलका प्रिन्सिपल बासुदेव कोइरालाले अबाकस शिक्षाले विद्यार्थीहरूको पठनपाठनलाई अझ प्रभावकारी बनाएको उल्लेख गरे। साथै, ब्राइट फ्युचर कलेजका प्रमुख किशोर अधिकारी र स्कुल एडमिन चिफले पनि आफ्ना भनाइ राखेका थिए।
अभिभावकहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा अबाकसको महत्वसमेत प्रस्टाइएको थियो। अबाकस, जसलाई संसारकै पहिलो गणनाका साधनका रूपमा मानिन्छ, जोड, घटाउ, गुणा र भागजस्ता हिसाबहरू छिटो र सजिलै गर्न सक्षम बनाउँछ। यो चीन र जापानका व्यापारीहरूले अझै पनि प्रयोग गरिरहेका छन्।
