
भैरहवा :– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार ४ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। जजिरा एयरवेज, थाइ एयर एशिया, फ्लाई दुबई र कतार एयरवेजले भैरहवामा उडान भरेका हुन्।
जजिरा एयरवेजबाट १७० जना यात्रु भैरहवा आएका छन् भने १६९ जना कुवेत प्रस्थान गरेका छन्। थाइ एयर एशियाको जहाजमा बैंककबाट आएका ४० यात्रु मध्ये ७९ जना भैरहवाबाट प्रस्थान गरेका छन्, जसमध्ये ३० जना विदेशी रहेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिएका छन्।

फ्लाई दुबईको जहाजबाट आएका १४६ मध्ये ११ जना मात्र भैरहवामा अवतरण गरेका छन् भने बाँकी १३५ जना काठमाडौँतर्फ गएका छन्।
कतार एयरवेजबाट आएका ६७ जना यात्रु मध्ये कोही पनि भैरहवा झरेनन्। उनीहरू सबै काठमाडौंकै यात्रु रहेको जनाइएको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको यो चहलपहलले क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
