श्रीङ्गा स्वास्थ्य चौकीमा औषधि वितरणमा चरम अनियमितता : बिमित बिरामीहरु बाहिरबाट औषधि किन्न बाध्य

Deurali Darshan Media
Deurali Darshan Media 1.9k Views 2 Min Read

गुल्मी, श्रीङ्गा :- श्रीङ्गा स्वास्थ्य चौकीमा आवश्यक औषधिहरूको अभाव र व्यवस्थापनमा देखिएको अनियमितताले बिरामीहरूलाई आवश्यक उपचार सेवा पाउन कठिनाइ भएको छ। हालैको निरीक्षणमा, ओपीडी अन्तर्गत उपलब्ध १९८ प्रकारका निशुल्क औषधि वितरण नगरिएर बिरामीहरूलाई बाहिरी मेडिकलबाट औषधि किन्न बाध्य बनाइएको पाइएको छ। यसले बिरामीहरूको आर्थिक भार मात्र नभई स्वास्थ्य सेवाको प्रभावकारितामा पनि प्रश्न उठाएको छ।

बिमामा दर्ता भएका बिरामीहरूको समस्या
बिमा प्रणालीमा दर्ता भएका बिरामीहरूलाई समेत निशुल्क औषधि नदिइ, बाहिरबाट औषधि किन्न निर्देशन दिइएको छ। स्वास्थ्य चौकीमा बिमा अन्तर्गतका बिरामीहरूले औषधि पाउनु पर्ने भएता पनि, बाहिरी मेडिकलमा पठाइनु अनियमितता भएको स्थानीयहरूको आरोप छ। यसै बीच, रुरु स्वास्थ्य चौकीले भने बिमा र ओपीडी दुबै माध्यमबाट औषधि वितरण गर्दै आएको देखिएको छ, जसले प्रश्न थपेको छ कि श्रीङ्गा स्वास्थ्य चौकीमा यस्तो व्यवस्थापन किन भइरहेको छ।

चिकित्सकीय सेवामा पनि अनियमितता
स्वास्थ्य चौकीमा दुई जना डाक्टर कार्यरत भए तापनि, बिरामीहरूको चेकजाँच प्रायः नजिकैको मेडिकल प्रोपाइटर वा अहेवले गरिरहेको पाइयो, जसले बिरामीलाई उपचारमा असुविधा भएको गुनासो गरेका छन्। यसबाहेक, औषधिको नाम र कम्पनी फरक पारी, साधारण सिटामोललाई PCM लेखेर बाहिरी मेडिकलमा किन्न पठाएको प्रमाण पनि भेटिएको छ।

सार्वजनिक गुनासो र माग
स्थानीयहरूका अनुसार, स्वास्थ्य चौकीमा म्याद गुज्रेका औषधिहरू फालिने, र बिमामा पर्ने औषधिहरू समेत पर्याप्त रूपमा वितरण नगरिनुले जनताको स्वास्थ्य सेवामा अवरोध गरेको छ। सम्बन्धित निकायहरूले यस्तो गम्भीर विषयमा आवश्यक छानबिन गरी स्वास्थ्य सेवामा सुधार ल्याउन चाँडो कदम चाल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै जनताको तर्फबाट यस्तो स्वास्थ्य सेवामा सुधारको माग गरिएको छ।