
नेपालगन्ज:- बाँके जिल्लाको डुडुवा-५ सिधनियाघाटमा बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि आजदेखि आध्यात्मिक महोत्सवको आयोजना गरिएको छ। आफन्तजनको निधनपछि दाहसंस्कारमा सहभागीलाई भएको दुःख र समस्यालाई मध्यनजर गर्दै परिकल्पना गरिएको बैकुण्ठधाम परियोजनाको प्रचार र यसको निर्माण कार्यलाई अघि बढाउन महोत्सव आयोजना गरिएको हो। महोत्सव कार्तिक ३० गतेसम्म चल्नेछ।
महोत्सवको सफलताका लागि २००० भन्दा बढी सदस्य रहेको मूल समिति र ११० भन्दा बढी उपसमितिहरू गठन गरिएको जानकारी संयोजक डा. सुरेश कानोडियाले दिए। यस महोत्सवमा भागवत प्रवचन, विभिन्न धार्मिक अनुष्ठान र अन्य सांस्कृतिक कार्यक्रमहरू हुनेछन्। प्रमुख वाचन शिरोमणी पं. दीनबन्धु पोखरेलको प्रमुख वाचनमा कार्तिक ३० गतेसम्म नेपालगन्जको रामलिला मैदानमा धार्मिक कार्यहरू सम्पन्न हुनेछन्।

पंडीत पोखरेलले यस महोत्सवमा पूर्वीय दर्शनको वैज्ञानिक पक्षलाई उजागर गर्ने विश्वास व्यक्त गर्दै वैकुण्ठधाम परियोजनालाई कुनै विशेष धर्म, जात वा सम्प्रदायको होइन, बरु सबै मानवजातीको महत्त्वपूर्ण परिकल्पना भएको बताए। उनले महोत्सवमा सबै धर्म, जात र सम्प्रदायका मानिसहरूलाई सहभागिता जनाउन आग्रह गर्दै मुस्लिम समुदायलाई पनि आमन्त्रण गरेका छन्।
डा. सुरेश कानोडियाले महोत्सव र बैकुण्ठधाम निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय सरकारले बनाएको दाहसंस्कार गृहलाई पनि वैकुण्ठधामले सहयोग गर्ने विश्वास व्यक्त गरे। महोत्सव र बैकुण्ठधाम निर्माण संस्थाले कुनै विशेष समूहसँग वैरभाव नगरी सबैका लागि संस्थामा ढोका खुला रहेको स्पष्ट पारेका छन्।
महोत्सवको पहिलो दिन, २२ गते बिहान ११ बजे, रामलिला मैदानबाट विभिन्न जाति, भाषा र धर्मका झाँकीसहितको कलशयात्रा आरम्भ हुनेछ। यसका साथै, भक्तजनहरूले ब्रतबन्ध, चौरासी पूजा, तुलादान र रुद्री पूजा जस्ता अनुष्ठान पनि गर्न सक्ने व्यवस्था गरिएको छ।
महोत्सवस्थलमा सुरक्षा र व्यवस्थापनका लागि पूर्ण रूपमा सिसी क्यामेरा जडान गरिएका छन्। साथै, शौचालय, विश्राम स्थल, प्रसाद वितरण र वाटरप्रुफ पण्डाल जस्ता सुविधा उपलब्ध गराइएका छन्। दानदाताहरूसँगको समन्वयमा विशेष सम्मान र रथारोहण जस्ता कार्यक्रमहरू राखिने आयोजकले उल्लेख गरेका छन्।
अहिलेसम्म ५० लाख रुपैयाँभन्दा बढी दान संकलन भइसकेको छ। दानलाई पारदर्शी बनाउन क्युआर कोड, नगद रसिद र बैंक खातामा सिधा जम्मा गर्ने व्यवस्था गरिएको आयोजकले जानकारी दिए।
बैकुण्ठधाम सिधनियाघाटको प्रमुख उद्देश्य जीवनको अन्तिम सत्यकारूपमा रहेको मृत्युलाई सम्मानजनक र सहज बनाउनु हो। यस परियोजनामा सबैको योगदानको अपेक्षा गरिएको छ, र यसले सबैलाई धार्मिक, सांस्कृतिक र सामाजिक हिसाबले महत्त्वपूर्ण योगदान दिन प्रेरित गर्ने विश्वास आयोजकको छ।
