आठ वर्षपछि बुटवलको मुख्य सडक निर्माण कार्य फेरि सुरु, दुई सिफ्टमा काम गरिँदै

Deurali Darshan Media
Deurali Darshan Media 633 Views 2 Min Read

बुटवल :- बुटवलको मुख्य सडक विस्तारको काम आठ वर्षको प्रतीक्षापछि फेरि सुरु भएको छ। राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ६ लेनको सडक निर्माण कार्य मङ्गलबारदेखि प्रारम्भ गरिएको हो। यो परियोजनाको जिम्मा  बावुल दर्शन मालिका जेभी भैरहवा कम्पनीले लिएको छ, जसले कामलाई तीव्रता दिन दिनरात दुई सिफ्टमा संचालन गर्ने योजना बनाएको छ।

बावुल दर्शन मालिका जेभीका ओनर तौफिक रहमान खानका अनुसार छठ पर्वपछि थप जनशक्ति लगाई निर्माण कार्यलाई तीव्र बनाइने बताएका छन्। “आजदेखि इलाका प्रशासन कार्यालय नजिकबाट काम सुरु गरेका छौँ, छठ पर्व पछि जनशक्ति थपेर समयसीमाभित्रै काम सम्पन्न गर्नेछौँ,” उनले बताए।

सडक निर्माण गर्दा हुने धुलोलाई नियन्त्रण गर्न नियमित रूपमा पानी छर्किने व्यवस्था पनि मिलाइएको बताए। कम्पनीले सुरुमा खालि रहेका स्थानमा काम गरिरहेको र क्रमशः अन्य स्थानतर्फ अघि बढ्ने योजना बनाएको जनाएको छ।

यसअघि यो सडक निर्माणको जिम्मा कञ्चनजङ्घा बिरुवा जेभीसँग थियो, जससँग २०७३ सालमा सम्झौता गरिएको थियो। तर, पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय बुटवलले २०७६ सालमा ठेक्का रद्द गरेको थियो। अब नयाँ ठेक्का सम्झौताअनुसार बावुल दर्शन मालिका जेभीले १ वर्षभित्र काम सम्पन्न गर्ने गरि काम अगाडि बढाएकाे बताईएकाे छ ।

सडक विस्तार परियोजनाकाे लागि ३३ करोड रुपैयाँ वजेटकाे ठेक्का सम्झैता भएकाे वताईऐकाे छ, जसमा साढे ३ किलोमिटर लम्बाइको सडक ६ लेनमा विस्तार गरिनेछ। यस सडकमा तीन मिटरको फुटपाथ, सात मिटरको सर्भिस लेन, साढे दुई मिटरको ग्रीनबेल्ट र स्टल, र साढे १० मिटरको मुख्य लेन रहनेछ। विशेष सुविधा स्वरूप नाइट स्टल राख्न मिल्ने गरी फुटपाथ निर्माणको योजना पनि थप गरिएको छ।

यस परियोजनाले बुटवलवासीलाई लामो समयदेखि देखिएको ट्राफिक र धूलो समस्यामा सुधार ल्याउने अपेक्षा गरिएको छ।