चाडपर्वको समयमा रगत अभाव नहोस भनी बुटवलमा सम्पन्न रक्तदान कार्यक्रम

Deurali Darshan Media
Deurali Darshan Media 104 Views 2 Min Read

रुपन्देही: नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समिति, रुपन्देहीले चाडपर्वको समयमा रगत अभावको पूर्ति गर्नका लागि बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। तिहारको अघिल्लो दिन बुटवलको ब्लड बैंकमा आयोजना गरिएको यस कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ।

वि.सं. २०६१ मा स्थापना भएको यस संघले आफ्नो स्थापना कालदेखि नै ‘टोल-टोलमा रक्तदान, एक घर एक रक्तदाता’ भन्ने मूल मन्त्रका साथ विभिन्न रक्तदान तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संघका अध्यक्ष दया सिलवालका अनुसार, संघले बृहत्, नियमित, र आकस्मिक रक्तदान कार्यक्रमहरू आयोजना गरी रगत र रगततत्वको व्यवस्थापनमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ।

रक्तसंचार सेवा केन्द्र (ब्लड बैंक) बुटवलमा दैनिक १०० देखि २२० युनिट रगतको खपत हुने बताइएको छ। विशेष गरी दशैं र तिहारजस्ता मुख्य चाडपर्वका समयमा डेंगु लगायत अन्य संक्रमण र दीर्घरोगका बिरामीहरूको उपचार आवश्यकताको कारण रगतको अभाव हुने गर्दछ। यस समयमा रक्तदाताहरूको चाडपर्व मनाउने व्यस्तताका कारण ब्लड बैंकमा रगतको चरम अभाव नहोस् भन्ने उद्देश्यले संघले नियमित रूपमा यस्ता रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको केन्द्रीय उपाध्यक्ष महेश खनालले जानकारी गराए।

यस कार्यक्रममा रक्तसंचार सेवा केन्द्र (ब्लड बैंक), बुटवलको प्राविधिक सहयोग रहेको थियो भने, सौभाग्य फार्मेसी, बुटवलको सह-प्रायोजन रहेको थियो। कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, महासचिव दिपक अधिकारी, जिल्ला शाखाका अध्यक्ष अशेष सिलबाल, उपाध्यक्ष भाष्कर शाही, तथा केन्द्रीय सदस्यहरू रुपेन्द्र अधिकारी र राजु रसाइली लगायतका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो कार्यक्रमले चाडपर्वमा रगत अभाव हुन नदिन योगदान पुर्याउने साथै सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न सहयोग पुर्याएको छ।