
डिल्ली शर्मा
साेलुखुम्बु
नेकपा एमाले सोलुखुम्बुले पर्वतीय प्रशिक्षण प्रतिष्ठान तथा नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान एकै स्थानमा गाभिन नहुने भन्दै ध्यानाकर्षण गराएको छ । आज एक प्रतिनिधि मण्डलले अर्थ मन्त्री विष्णु पौडेललाई भेटेर पर्वतीय प्रतिष्ठान हिमाल आरोहण तथा साहसिक पर्वतीय पर्यटन जस्तो संवेदनशील विषय र छुट्टै पहिचान भएकाले अन्य निकायसँग गाभिन नहुने जानकारी गराएको हो ।

कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला सहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७ गार्मामा स्थापित प्रतिष्ठानको आवश्यक भवन तथा पूर्वाधार निर्माण भई सञ्चालनको लागि तयारी अवस्थामा रहेको प्रतिष्ठानलाई स्वायत्त निकायका रूपमा नै सञ्चालन गरिनु पर्ने जनाएको छ । ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री विष्णु पौडेलले यस विषयमा छलफल भइरहेको तथा दुई वटा प्रतिष्ठानलाई एउटै बनाउन नहुने विषयमा सरकार सकारात्मक रही यस विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीसँग नै छलफल भइरहेको बताउनुभयो ।
२०५८ सालमा नै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहने गरी पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरी स्थानीयको २ हजार ७ सय ४७ रोपनी जग्गा अधिग्रहण गरी पर्वतीय तथा साहसिक पर्यटन र हिमाल आरोहणको क्षेत्रमा समेत बिशिष्टकृत तालिम तथा उच्च शिक्षा अध्ययनको कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारबाट नै २३ करोड ५० लाख रुपैंया भन्दा बढी लगानी भई सकेको छ । निर्माण तथा पूर्वाधार तयारीका कार्य सम्पन्न भएता पनि विविध कारणवश प्रतिष्ठानले आफ्नो कार्यक्रम सञ्चालन भने हालसम्म गरेको छैन ।
यसरी गठित प्रतिष्ठानलाई आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानसँग गाभ्ने नीतिगत निर्णय भएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हाल प्रक्रिया अगाडी बढाई निर्णयार्थ रहेकोमा नेकपा एमाले, सोलुखुम्बुले सो कार्यलाई स्थगन गरी पुर्ववत रूपमा नै राख्न अर्थ मन्त्रालयमा आग्रह गरेको हो । सो प्रतिनिधि मण्डलले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा रक्षा मन्त्रालयलाई समेत बोधार्थ पेस गरेको जिल्ला कमिटी सचिव कल्पना राईले जानकारी दिनुभयो ।
