सामान्य शल्यक्रिया गर्दा सम्झनाको ज्यान गएको भन्दै आफन्तले उठाए चिकित्सक प्रति प्रश्न

Deurali Darshan Media
Deurali Darshan Media 17 Views 2 Min Read

चितवन :- भरतपुर अस्पतालमा उपचारको लागि आएकी एक महिलाको ज्यान गएपछि मृतकका आफन्तले लापर्वाहीको आशंका गरेका छन्।

पाठेघरमा पलाएको मासुको डल्लो निकाल्नको लागि भरतपुर अस्पताल पुगेकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको ज्यान गएपछि उनका आफन्तले अस्पतालको लापर्वाहीको आशंका गरेका हुन्।

परिवारका सदस्यले भने नर्मल अवस्थामा उपचारको लागि आएको बिरामीलाई चिकित्सकको लापरबाहीले गर्दा ज्यान गएको आरोप लगाए पछि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको समन्वयमा अस्पतालका पदाधिकारी, आफन्त, चिकित्सक लगायतको टोलीको बैठक बसिरहेको छ।

भदौ ३ गते अस्पताल भर्ना भएकी ३९ वर्षकी काफ्लेको पाठेघरमा सानो मासु पलाएको र सामान्य शल्यक्रिया गरेर मासुको डल्लो निकाल्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका थिए।

उनका आफन्तका अनुसार सम्झना सामान्य अवस्थामा अस्पताल पुगेकी थिइन्। उनको सामान्य शल्यक्रियाबाट मासु निकाल्न उपचारमा संलग्न डाक्टरले सुझाएका थिए।

डाक्टरको सुझाव अनुसार हिजो मंगलबार अस्पताल भर्ना भएकी काफ्लेको उपचार भएको थियो। भरतपुर अस्पतालका स्त्री तथा प्रसूती चिकित्सा विभागका प्रमुख वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर सुनिलमणी पोखरेलका अनुसार सामान्य शल्यक्रिया गर्नुपर्ने भएपनि शल्यक्रिया थाल्नुअघि नै काफ्लेलाई समस्या आएको थियो।

उपचारमा संलग्न डाक्टरहरुलाई उद्धृत गर्दै विभागीय प्रमुख डाक्टर पोखरेलले ढाड भन्दा तल लठ्याउने औषधि (एनेस्थेसिया) लगाएलगत्तै काफ्लेको मुटुमा समस्या आएको बताए।

डाक्टर पोखरेलले भने, – उपचार थाल्नुअघि बिरामी  नर्मल अवस्थामा रहिछन्। तर, एनेस्थेसिया दिएलगत्तै एक्कासी बिरामीलाई हर्टअट्याक्ट जस्तो आएछ। अप्रेशन सुरु गर्नै पाएका थिएनौँ। तत्कालै बिरामीलाई आइसियूमा सारियो। सुरुमा केही राम्रो जस्तो पनि भएको थियो। तर, राती मुटुले कामै गर्न सकेन।’

डाक्टर पोखरेलका अनुसार यस्तो खालको एनेस्थेसिया रियाक्सन मुटु सामान्य रहेका व्यक्तिलाई हुनु दुर्लभ घटना हो। दैनिक ५र७ जनालाई एनेस्थेसिया लगाएर शल्यक्रिया गर्दा पनि मुटुमा एक्कासी समस्या हुने अवस्था आफूलाई थाहा नभएको उनले बताए। यस्तो घटना हजारमा एक जनालाई हुन्छ भनिन्छ, उनले भने, – यो पनि त्यस्तै भयो।

चिकित्सका अनुसार पाठेघरमा नचिरीकन दुरबीनको सहायताले पलाएको मासुको डल्लो निकाल्ने तयारी गरिएको थियो। अहिले सामान्य खालको पाठेघरबाट मासु निकाल्ने शल्यक्रिया यसैगरि गरिन्छ। तर, एनेस्थेसियाले रियाक्सन गरेर मुटुमा समस्या भएपछि उपचार प्रकृया सुरु गर्नै नपाएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।