
पाल्पा :-पाल्पामा पहिलो समलिंगी विवाह दर्ता भएको छ । पाल्पाको रामपुर नगरपालिका वडा नम्बर -९ को कार्यालयमा पहिलो समलिंगी विवाहको दर्ता भएको हो ।
वि.सं. २०७८ साल असोज २९ गते विवाह भए पनि कानुनी व्यवस्था नभएका कारण पाल्पाका ३१ वर्षीय चिनाकुमारी नेपाली र नवलपुरका ३६ वर्षीय ज्योति सार्कीले विवाह दर्ता गर्न पाएका थिएनन् । सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गर्न आदेश दिएपछि देशका अरु ठाउँमा पनि समलिंगी विवाह दर्ता हुन थालेपछि उनीहरुले पनि दर्ता गरेका हुन् ।

पाल्पाको रामपुर नगरपालिका -९, जब्गादी निवासी चिना र नवलपुर बौदीकाली -१, मिथुकरम निवासी ज्योति सँगै बसोबास गर्दै आएका थिए । विवाह दर्ताका लागि निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रको आधारमा गत भदौ २ गते विवाह दर्ता प्रमाणपत्र जारी गरिएको रामपुर नगरपालिका वडा नम्बर -९ का वडा सचिव मोहम्मद युनुस खानले जानकारी दिए ।
पहिलोपटक दर्ता भएको हुँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर प्रमाणपत्र प्रदान गरिएको खानले बताए ।विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चिनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको छ । वि.स. २०७८ सालमा पाल्पाको सिद्धबाबा मन्दिरमा गएर परम्परागत शैलीबाट विवाह गरेका उनीहरुले ३ वर्षपछि विवाह दर्ताको प्रमाण पत्र पाउँदा खुसी लागेको बताएका छन् ।
वि.सं. २०८० असार १२ गतेको सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी अभिलेख रहने गरी समलिङ्गी विवाह दर्ताको व्यवस्था मिलाउन गत १२ गते स्थानीय तहलाई परिपत्र गरेको थियो । सोही आधारमा उनीहरुको विवाह दर्ता भएको हो ।
