बुटवलमा कपडा बैंकको स्थापना,पुराना कपडालाई रिफाईन गरिने

Deurali Darshan Media
Deurali Darshan Media 28 Views 2 Min Read

बुटवल:- बुटवलमा कपडा बैंकको स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको समन्वय तथा क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैंकको स्थापना गरिएको हो । महानायक राजेश हमाल संरक्षक रहेको  क्लोथ एण्ड फुड बैंक नेपालले बुटवलमा कपडा संकलनको लागि क्लोथ बक्सको स्थापना गरेर सुरुवात गरिएको हो ।

केही दिन अघि बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको थियो । सम्झौतापछि शनिबार औपचारिक रुपमा बुटवलमा क्लोथ बैंक सञ्चालनमा आएको हो ।बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुराना कपडालाई रिफाईन गरेर पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैंंकको स्थापना गरिएको बताउनुभयो ।

जनताले अहिले भौतिक मात्र नभएर मानविय विकासको खोजी गर्दै आएको बताउँदै बुटवल उपमहानगरपालिकाले भौतिक विकासमा मात्र नभएर मानवीय विकासको लागि बजेट खर्च गर्दै आएको बताउनुभयो ।  उपमहानगरपालिकाका उपप्रमुख सावीत्रादेवी अर्यालले बुटवलका ठाउँमा ठाउँमा कपडा संकलन केन्द्रको स्थापना गरेर पुराना कपडा संकलन गर्नको लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

महानायक तथा क्लोथ एण्ड फुड बैंक नेपालका संरक्षक राजेश हमालले नागरिकलाई मौलिक हक प्रदान गर्नु राज्यको अहम भूमिका रहेपनि जनस्तरबाट पनि सहयोग गरिनुपर्ने बताउनु भयो । विकसीत देशमा पनि गास,बास,कपास जस्ता मानिसको नैसर्गिक अधिकारलाई सरकार र जनस्तरबाटै सहयोग उठ्न गरेको बताउँदै नेपालमा पनि जनस्तरबाटै सहयोग गर्न सकिने बताउनु भयो । समाजका सक्षम ब्यक्तिहरुले विभिन्न संघसंस्थाको स्थापना गरेर नागरिकलाई मौलिक हक प्रदान गर्नको लागि सहयोग गर्नुपर्ने महानायक हमालले बताउनु भयो ।

क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशका २५४ वटा स्थानीय तहमा समन्वयन गरेर कपडा बैंकको स्थापनाको तयारी गरिएको र बुटवलबाट सुरुवात गरिएको जानकारी दिनुभयो ।

पुराना प्रयोगमा नआएका कपडा, जुत्ता, झोला ,किताब संकलन गर्ने र प्रशोधन गरेर आवश्यक ब्यक्तिलाई निःशूल्क रुपमा कपडा दिने उद्देश्यले संस्थाको स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । ७ वटै प्रदेशमा कपडा प्रशोधनको  स्वरुम सञ्चालन गर्नै तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी आविश्कार खनालले गर्नुभएको थियो ।