ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानेर हत्या

Deurali Darshan Media
Deurali Darshan Media 26 Views 1 Min Read

बुटवल :- दाङमा गोली हानेर ड्युटीमा रहेकी महिला प्रहरीको हत्या भएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली उनकै श्रीमानले गोली हानेर  हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

घटना करिब साढे ७ बजे भएको हो। गोली प्रहारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले मगरलाई मृत घोषणा गरेका थिए ।

गोली हानेर भाग्दै गरेका प्रहरी जवान समेत रहेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। झाक्री नेपालगञ्जमा कार्यरत  प्रहरी रहेको प्रहरीले बताएको छ।

दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार टु ट्वान्टी बाइकमा आएका झाँक्रीले घोराहीको दामोदर चोकमा हतियारसहित डियुटीमा बसेकी श्रीमतीलाई तीन राउन्ड गोली हानेका थिए। दुई राउन्ड कोखामा र एक राउन्ड गोली छातीमा लागेको थियो ।

श्रीमतीलाई गोली हानी हत्या गर्ने सहायक हवलदार झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय (हाल नेपालगन्ज बाँके)का एसएसपीका बडिगार्ड हुन् । प्रहरीका अनुहार उनकी श्रीमतीले दाङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।