
पोखरा :- सर्वसाधारणको करोडौं बचत हिनामिना पारेर फरार भएकी बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
४ महिना देखि प्रहरीको खोजी सुचीमा रहेकी २७ वर्षीया सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार ललितपुर महानगरपालिका वडा नं धोबिघाटबाट नियन्त्रणमा लिएको हो।

बागलुङ र पोखरामा गरी दुई ठाउँमा रहेको इमेज सहकारीमा चार हजार बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
पक्राउ परेकी कोषाध्यक्ष सुनारलाई जिल्ला प्रहरी कार्यालय बागलुङलाई बुझाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए।
ढोरपाटन नगरपालिकाका नगरप्रमुख समेत रहेका सहकारीका अध्यक्ष नेपाली जेठदेखि फरार छन्।
मेयर नेपाली र उनकी श्रीमती तिब्बती मुलकी नेपाली नागरिक छेला नेपालीविरूद्ध यसअघि नै रेड कर्नर नोटिस जारी भएको थियो।
उनीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएपनि पक्राउ पर्न सकेका छैनन्।
फरार रहेका १३ जनामध्ये पाँच जना यसअघि नै पक्राउ परिसकेको बागलुङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) मदन केसीले जानकारी दिए।
यस प्रकरणमा चित्रबहादुर भण्डारी, लालमति रोका, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर यसअघि नै पक्राउ परेका थिए।
