एनएसएलमा धनगढी र काठमाडौंको बराबरी

Deurali Darshan Media
Deurali Darshan Media 1.6k Views 1 Min Read

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा धनगढी एफसी र काठमाडौं रेजर्सले १-१ को बराबरी खेलेका छन् ।जारी प्रतियोगितामा अपराजित रहेको धनगढीले खेलमा पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन र काठमाडौंसँग अंक बाँड्यो ।अहमद हिजाजीले गोल गर्दै धनगढीलाई १५ औं मिनेटमा नै अग्रता दिलाएका थिए ।

डियाग्ने फालोउले आफ्नै क्षेत्रबाट लामो पास दिएका थिए । त्यसमा काठमाडौंका आन्द्रेस नियाले आफ्नो साथीलाई ब्याक पास दिएका थिए । तर हिजाजीले बल पाए र उनले काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठ अघि बढेको मौकामा बक्सभित्रबाट भली प्रहार गर्दै गोल गरे ।

तर ६५औं मिनेटमा काठमाडौंले बराबरी गोल फर्काएको थियो । धनगढीका रोहन कार्कीले कोमिवनलाई लडाएपछि काठमाडौंले फ्रिकिक पाएको थियो ।कोमिवनले बायाँ भागबाट हानेको फ्रिकिकमा किनगुए ओलिभरले बक्सभित्रबाट जम्प गर्दै हेडमार्फत गोल गरे । धनगढीका किपर टिकेन्द्र थापाले बचाउने अवसर नै पाएनन् ।

काठमाडौंको दशरथ रंगशालामा भएको खेल १-१ को बराबरीमा टुंगिएसँगै धनगढी १२ अंकसहित पहिलो र काठमाडौं ९ अंकसहित चौथो स्थानमा एथावत् छन् ।अपराजित रहेको धनगढीको यो बराबरीले प्ले अफमा पुग्ने संभावना बलियो भएको छ ।यो खेल सञ्चालन गरिरहेका मुख्य रेफ्री प्रज्वल क्षेत्री हाफ टाइममा घाइते भएका थिए । उनको सट्टा फोर्थ अफिसियलमा रहेका नविन्द्र महर्जनले दोस्रो हाफको खेल सञ्चालन गरे भने फोर्थ अफिसियलमा श्याम दनुवार आएका थिए ।