प्रशिक्षक देसाई भन्छन् : सुपर ओभरको अभ्यास गरेका थियौं, तर पनि चुक्यौं

Deurali Darshan Media
Deurali Darshan Media 1.6k Views 3 Min Read

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले आफूहरुले सुपर ओभरका लागि अभ्यास गरेको भए पनि आज ओमानसँग योजना लागु गर्न नसकेको बताएका छन् ।

‘सुपर ओभरको लागि हामीले केही तयारी गरेका थियौं । प्रतियोगिताको बेलामा हामीले केही अभ्यास गरेका थियौं’ देसाईले भने, ‘प्रतियोगितामा जे पनि हुन सक्छ भन्ने थियो ।’

टी–२० विश्वकप छनोटको फाइनलमा सुपर ओभरमा ओमानसँग पराजित भएपछि उनले भने, ‘हामीले पावर प्लेमा गलत गरेका हौंं, हामीले मिडल ओभरमा राम्रो गरेका हौं, बलिङ योजनामा हामी विफल भएका हौं । हामीले योजना लागु गर्न नसकेका हौं ।’

उनले अविनाश बोहरालाई टी-२० स्पेशलिस्टको रुपमा अभ्यास गराए पनि आज उनी चुकेको बताए । सुपर ओभरमा अविनाशको बलिङमा ओमानले २१ रन बनाएको थियो । ओमानका नसिम खुसीले ३ छक्का हानेका थिए ।

खेलपछि त्रिवि क्रिकेट मैदानमा पत्रकारसित कुरा गर्दै प्रशिक्षक देसाईले ओमानका बलर बिलाल खानले राम्रो बलिङ गरेको बताए । सुपर ओभरमा बिलालको पहिलो बलमै कुशल भुर्तेल आउट भएका थिए । कुशल मल्लले २ चौकासहित ९ र गुल्सन झाले १ रन मात्र बनाएपछि नेपालको स्कोर १० रन मात्र भयो ।

उनले यो फाइनल हारे पनि नेपालले एक दिवसीय मान्यता जोगाएको, एक दिवसीय विश्वकप छनोट र एसिया कप पनि खेलेको स्मरण गरे । देसाईकै प्रशिक्षणमा नेपालले यी उपलब्धि हात पारेको थियो ।

नेपाल समूह चरणमा पनि ओमानसित पराजित भएको थियो । उनले यो दुवै हारलाई १ बलको हार भने । ‘ओमनसँग दुवै खेलमा हामीले एक बलमा हारेका हौं । हामीले वान ब्याटलमा हारेका हौं । दुवै खेलमा हामीले वान बल ब्याटलमा हारेका हौं’, उनले भने ।

फाइनलमा ओमानसँग ब्याटिङ राम्रो भएको प्रशिक्षक देसाईले बताए । नेपालले रोहितकुमार पौडेल र गुल्सन झाको अर्धशतक मद्दतमा ६ विकेट मात्र गुमाएर १८४ रन बनाएको थियो ।

समूह चरणको खेलमा ओमानविरुद्ध विस्फोटक ब्याटिङ गरेको विवेक यादवले आज बलिङ पनि गरेका थिए । यादवको प्रशंसा गर्दै प्रशिक्षक देसाईले भने, ‘विवेक जोसँग कम अनुभव छ । उसले पनि राम्रो गरेको छ ।’

अहिलेसम्म १३ वटा टी–२० आई मात्र खेलेका विवेकले ओमानविरुद्ध आज २ ओभर बलिङ गर्दै १४ रन दिएर १ विकेट लिएका थिए । ‘आज पनि धेरै राम्रो ओभर निकाल्यो । क्याचहर पनि लियो’ देसाईले भने, ‘त्यसले नेपाल क्रिकेटमा अर्को नयाँ अनुहार थपिदियो ।’

उनले नेपाली टिममा देशभरबाट नयाँ खेलाडी ल्याउने पनि बताए ।