गुल्मीमा पर्व लक्षित ग्रामीण स्तरका सडक धमाधम मर्मत

Deurali Darshan Media
Deurali Darshan Media 57 Views 2 Min Read

गुल्मीः दशै तिहार जस्ता महान पर्वलाई लक्षित गर्दै ग्रामीण स्तरका सडकहरु धमाधम मर्मत गर्न थालिएको छ ।चाडपर्वलाई लक्षित गर्दै ग्रामीण सडकहरु मर्मत गर्ने कार्यलाई तीव्रता दिएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो । देश तथा विदेशबाट दशै तिहार जस्ता पर्वहरु मनाउन गाउँमा आउनेको सङख्या पनि बढी हुने र वर्षा पनि रोकिएकाले सडक मर्मत गर्ने कार्यलाई तीव्रता दिएको उहाँको भनाई छ ।

वर्षा रोकिए सङगै विग्रिएका सडकहरुलाई मर्मत तथा सफा गर्दा यात्रामा सहज हुने र दुर्घटना न्यूनीकरणमा समेत टेवा पुग्ने आफूहरुले विश्वास लिएको दर्लामीले बताउनुभयो ।यस्तै रुरुक्षेत्र गाउँपालिकाले पालिका भित्रका सबै सडकहरु मर्मत गर्ने कार्यलाई प्राथमिकता दिएको अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । केही दिन पहिले देखी सडक मर्मतका लागि डोजरहरु लगाइएको बताउँदै सडकहरु मर्मत गर्ने कार्यअन्तिम चरणमा पुगेको उहाँको भनाई छ ।

चन्द्रकोट गाउँपालिकाले वडाबाट कार्यन्वयन हुने गरी बजेट विनीयोजन गरेको र वडाको समन्वयमा सडक मर्मत तथा सफा गर्ने कार्य भइरहेको अध्यक्ष युवराज केशीेले जानकारी दिनुभयो ।रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले ग्रामीण स्तरका सडक मर्मत गर्ने कार्य भइरहेको भन्दै दशैमा वर्षा नभएमा ग्रामीण स्तरका सडकहरु पनि सफा र चिटिक्क हुने दाबी गर्नुभयो ।जिल्लाका दुई नगर र १० गाउँपालिका सहित १२ स्थानीय तहहरुले ग्रामीण स्तरका सडकहरु मर्मत तथा सफा गर्ने कार्यलाई तीव्रता दिएको बताउँदै आएका छन् ।

यता मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका प्रमुख माधव अधिकारीले राजमार्गमा खसेका पहिरोहरु पन्छाएको र सामान्य सडक मर्मत गर्नका लागि लेन्थ वर्करहरु लगाएको बताउनुभयो ।