उनले लेखेका छन्, “हामी सपना बुनेर आको, सपना टुटेर आउनु परेको छ !
आज हाम्रो एउटा चीत्कार भनेको हाम्रो प्रिय साथी विपिन जोशीको खोजीको हो । हामी बाँच्यौँ तर हामी जिन्दगी भरी मरी मरी बाँच्नु पर्ने भयो ।
सरकार, केही त होला नि !
सरकार ? मानव अधिकारी ? amnesty ? केही त छ ?
पक्कै छ सरकार ! पक्कै होला । खोज्नु पर्यो ।
भगवान्ले हामीलाई बचाउनु भयो । उसलाई पनि बचाउनु हुन्छ । तर केही त गर्नुपर्यो । हामीले प्रार्थना गरेझैँ सरकारले खोज्नपर्यो, लाग्नुपर्यो । माहौल तातिएपछि मात्रै भन्दा, उसलाई देशको छोरा जसरी खोज्नुपर्यो । विपिनको सुरक्षित आगमनको लागि नेपाल पर्खिरहेको छ !
बिन्ती हाम्रा सबै साथीहरू शव पनि छिटो उपलब्ध गराइदिनुहोला ! हाम्रा दिदी, भाइ, बुवा आमाका आँखा सुकिसके आफ्ना मुटुका टुक्राहरूलाई कुर्दा कुर्दै !
अन्तिममा हामीलाई सकुशल उद्धार गरी स्वदेश फिर्तीको लागि अहोरात्र खटिनु हुने र सहयोग गर्नु हुने सम्पूर्णमा नमन ।”
गत शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ । भीमदत्त नगरपालिका वडा नम्बर ३ घर भई कृषि विज्ञान विषयमा स्नातक तहको अध्ययन पश्चात् ११ महिनाको प्रयोगात्मक अभ्यासका लागि इजरायल गएका विपिनको खोजिकार्य गरी उद्धार गरिदिन उनको परिवारले सरकार र दूतावाससँग अनुरोध गरिरहेको छ । सरोकारवाला निकायसँग बुझ्दा अहिलेसम्म कुनै आधिकारिक जानकारी नपाएकोले यथाशीघ्र विपिनको अवस्था पत्ता लगाई उद्धार गरिदिन परिवारजनले अनुरोध गरेका छन् । विपिनको घरपरिवार यति बेला भाव विह्वल भएको छ । घरका सबै सदस्य र छरछिमेकी तथा आफन्तजनको रुवाबासी भइरहेको छ ।
इजरायल घटनामा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थी मध्ये ७ जना सुदूरपश्चिमका छन् । कैलालीको घोडाघोडीका नारायणप्रसाद न्यौपाने र बौनियाका आशिष् चौधरी, दार्चुलाको लेकमका दीपेशराज बिष्ट र मालिकार्जुनका लोकेन्द्रसिंह धामी, डोटीको पचनालीका राजन फुलारा र लामीखालका पदम थापा तथा बझाङको जयपृथ्वीका गणेशकुमार नेपालीको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । सोही घटनामा परेका धनुषाका आनन्द साह, सुनसरीका राजेशकुमार स्वर्णकार र सल्यानका प्रवेश भण्डारीले समेत ज्यान गुमाएका छन् । कैलालीको टीकापुरका धनबहादुर चौधरी, गोरखाका हिमाञ्चल कट्टेल, दाङका प्रवीण डाँगी र सल्यानका विधान सेजवाल घाइते भएका थिए । उनीहरुसँगैका कैलालीको भजनी त्रिशक्तिका वीरेन्द्र चौधरी र सल्यानका प्रमोद केसी भने सुरक्षित रहे ।

युद्ध प्रभावित क्षेत्रमा फसेका नेपालीलाई स्वदेश फर्काउन इजरायल पुगेको नेपाल एयरलाइन्सको विमान काठमाडौँका लागि छुटेको छ । तेल अभिभ विमानस्थलबाट २५४ नेपालीलाई लिएर विमान नेपाली समय अनुसार ५:२० मा काठमाडौँका लागि उडेको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जानकारी दिइन् । उनले तीन घाइते र सम्पर्कमा नआएका एक जना बाहेक सबै विद्यार्थीलाई लिएर इजरायलको तेल अभिभ विमानस्थलबाट काठमाडौँका लागि विमान उडेको जनाइन् । रिजालका अनुसार सो विमान दुबई ट्रान्जिट बनाएर नेपाल आउने छ । विमान बिहीबार राति ११ बजेभित्र काठमाडौँमा अवतरण गरिसक्ने छ ।
सरकारले स्वदेश फिर्ता हुन चाहनेलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । युद्ध प्रभावित क्षेत्रमा फसेका नेपालीलाई लिन परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदको टोली नेपाली विमान लिएर बिहीबार बिहान इजरायल प्रस्थान गरेको थियो । यसअघि युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीलाई विमानस्थलमा ल्याइएको थियो । पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि छन् । यीमध्ये धनबहादुर चौधरी घाइते छन् । उपचारकै क्रममा रहेका उनलाई ट्राभल गर्न सक्ने चिकित्सकहरूले बताएपछि उनी पनि स्वदेश फर्किएका छन् ।
परराष्ट्र मन्त्रालयले घर फिर्तीका लागि ३५० जनाको विवरण प्राप्त भएकोमा २८८ जनाले नेपाल नै फर्कने इच्छा व्यक्त गरेको जनाएको छ । विमानमा नअटेका बाँकी नेपालीलाई भने आवश्यकता अनुसार अर्को विमान पठाउने वा नियमित जहाजबाटै भए पनि ल्याउने व्यवस्था गरिने मन्त्रालयको भनाइ छ । गत शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । विपिन जोशी अझै सम्पर्कविहीन छन् । १७ जनाको समूहमा रहेका विद्यार्थीमाथि भएको आक्रमणमा १० जनाको मृत्यु भएको थियो । ती शव पनि प्रक्रिया पूरा गरेर छिट्टै ल्याइने मन्त्रालयले जनाएको छ ।