
बुटवल :- नेपालको दोश्रो ठुलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार नाकाले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्नुमा बढदै गएको तस्करी हो भन्ने घटनाक्रमले पुष्टि गर्दै गएको छ।
पछिल्लो समय एकपछि अर्को गरी तस्करीमा सम्लग्न मालबाहक सवारी साधनहरु पक्राउ पर्न थालेपछि भैरहवाबाट ठुलो मात्रामा तस्करी हुदा लक्ष्य अनुसार राजस्व संकलन नभएको देखिएको छ।

भैरहवा भन्सार कार्यालयले हरेक बर्ष लक्ष्य तोक्ने कार्य समेत घटाउदै लगेपनि २०७८ पुसदेखी यता लक्ष्यअनुसारको राजश्व असुल गर्न सकेको छैन्। केही बर्ष पहिले सम्म बेलहिया स्थीत भैरहवा भन्सार नाकाबाट भारतीय सामानहरुको तस्करी हुने गरेको भएपनि पछिल्ला बर्षहरुमा तेश्रो मुलुकबाट आयात हुने सामग्रीहरुको तस्करी निरन्तर उकालो लाग्दो अवस्थामा छ।
जेठको दोस्रो साता भन्सार एजेन्ट समेतको मिलोमतोमा कीर्ते प्रज्ञापन मार्फत भन्सार पास गराउन खोज्दा कार्यालयको ४ नम्बर गेटबाट एक ट्रक माछा बरामद भएको थियो। उक्त घटना सार्वजनिक भएपछि भन्सार कार्यालयले १० जना अरोपितलाई पक्राउ गरि कारबाही थाल्यो। तर सेटिङमा पोख्त तस्करहरुले गएको असारमा समेत प्याजसहितको मालबाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरिन खोज्दा पक्राउ पर्यो ।
भारतीय नम्वर प्लेट रहेको युपी ३१ टी ९९४१ नम्बरको प्याजसहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरिनै लाग्दा कीर्ते कागज भएको आशंकामा टर्मिनलले रोकेको थियो।
बिहीबार प्लाष्टिकको दाना भनेर भित्र्याइएको ट्रकमा फरक सामान पाइयो। भन्सार परिसर प्रवेश गर्दा गेटमा स्वघोषणा गरिएको भन्दा फरक सामान पाइएपछि भैरहवा भन्सार कार्यालयले सामानसहित नेपाली र भारतीय ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समयमा सोमबार फेरी सोही प्रकृतिको घटना बाहिरिएको छ।
यि सवै काममा एउटै गिरोह सक्रिय रहेको भन्सारमा कार्यरत कर्मचारीहरु बताउछन्। घटनाका सम्वन्धमा अनुसन्धान भई रहेका कारण हामीले केही बोल्न मिलेन यत्ती बुझ्नुस प्याज ल्याउने, माछा ल्याउने र प्लाष्टिकको दाना भनेर कपडा ल्याउने गिरोह एउटै हो र शक्तिसाली छ।
भन्सार कार्यालय श्रोतका अनुसार गत आइतबार राति औषधिको कच्चा पदार्थ भनि भन्सार परिसरमा भित्रिएको ट्रकमा ३७ पोका कपडा भेटिएको छ। डिएल १ जिसी ४४४६ नम्बरको ट्रक परिसरमा प्रवेश गरि भन्सारका लागि प्रक्रियामा आएको थियो।
भन्सारका कर्मचारीले ३ दिनदेखि सामान देखाउनका लागि भने पनि आनाकानी गरेको पाएपछि शंका लागेर जाँच गर्दा कपडा र जुत्ता चप्पल भेटिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिए। त्यो घटनामा युपी ८४ टी ५३४७ नं को ट्रकको पनि संलग्नता पाइएको छ ।
उनका अनुसार घटनामा संलग्न भएको आशंकामा एकजना भन्सार एजेन्टसहित दुईजनालाई पक्राउ गरिएको छ। उक्त ट्रकभित्र रहेका कपडाका पोकामा रक्सौल नाका कोड गरिएकोले उक्त सामान काठमाडौं आसपासको हुन सक्ने भन्सार कार्यालयले आंकलन गरेको छ।
समान्यतया काठमाण्डौका लागि आयात हुने समान रक्सौल या बिरगन्ज नाकाबाट भित्रीदै आएको भएपनि पछिल्लो समय केही मालबाहक ट्रकहरु निरन्तर भैरहवा भन्सार हुदै प्रवेश गर्नुले पनि भित्रैका केही व्यक्तिको सेटिङमा सामान तस्करी भईरहेको भन्ने आशंका लाई बल दिएको छ। भन्सारले गाडी समात्दै गएपनि छिटफुट बाहेक ति सामान र सवारी साधनका मुख्यधनीले भने उन्मुक्ती पाउदै आएका छन्।
आइतबार बेलुका भन्सार गेटबाट प्रवेश गरेको उक्त ट्रकभित्र तोकिएभन्दा फरक सामान रहेको भन्ने गोप्य सूचनाको आधारमा निगरानीमा राखिएको प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ। राति साढे १० बजे सामानको प्रकृति चेकजाँच गर्ने क्रममा पोका खोल्न आलटाल गरेपछि सोमबार बिहानै चेकजाच गर्ने भनि कर्मचारी घर लागेको र यही मौका छोपी ट्रकभित्र रहेका १९ वटा पोका रातारात अर्को ट्रकमा स्तानान्तरण गरेका थिए।
साेमबार बिहान अघिल्लो दिन भने जति सामान नपाईपछि सतर्क रहेका भन्सारका केही कर्मचारीहरुले खोज्दै जादा उक्त ट्रकभित्र रहेका कपडाका १९ वटा पोका युपि ८४ टी ५३४७ नम्बरको ट्रकमा फेला परेकाले दुवै ट्रकलाई नियन्त्रणमा लिईएको पौडेलले जानकारी दिए।
भन्सार प्रमुख पौडेलका अनुसार उक्त घटनाको अनुसन्धानको क्रममा केही व्यक्तिको नाम आएकोले उनीहरुको खोजीको काम भइरहेको छ। शंकास्पद र केही पुष्टि भएका तस्करको विवरणसहित सीआईबीलाई अनुसन्धानका लागि पठाइएको छ पौडेलले भने। यसमा ठुलो गिरोहको संलग्नता रहेकोले यसलाई संगठित अपराधमा मुद्दा दर्ता गरेर सीआईबीलाई अनुसन्धानका लागि जिम्मा दिने तयारी भन्सारको छ।
पाैडेलले भन्सारका कर्मचारी वा अन्य सम्बन्धित व्यक्तिहरुका विषयमा पनि मोबाइल कल डिटलदेखि सीसीटीभी क्यामेराका फुटेज गहिरो अनुसन्धान सुरु गरिएको उनको बताए।