
बुटवल:- गुल्मीको सदरमुकाम तम्घासस्थित जिल्ला अस्पतालमा उपचाररत बालिकाको मृत्युको छानबिन माग गर्दै आन्दोलनमा उत्रिएका दुई युवक जलेर घाइते भएका छन् ।
आन्दोलनमा उत्रिएका पीडित पक्षले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै टायर बाल्ने क्रममा पेट्रोल शरीरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका–६ र ७ का लक्ष्मण पाण्डे र कृष्ण पौडेल जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

एक्कासी पेट्रोल खनाएर बाल्ने क्रममा पाण्डे र पौडेलको शरीरमा परेर जलाउँदा घाइते भएका हुन् । उनीहरुलाई तम्घासमा सामान्य उपचार गरी थप उपचारको लागि पाल्पा मिसन अस्पतालमा पठाईएकाे छ । गुल्मी प्रहरीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानका अनुसार गुल्मी प्रहरीले आन्दोलन गर्दै आएकाहरुलाई सडकमा टायर नबाल्न आग्रह गरेको थियो ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउलेकी ६ वर्षीया बालिका प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएपछि तनाब बढेको हो । अस्पतालको लापर्बाहीले बालिकाको मृत्यु भएको भन्दै बालिकाका आफन्तसहितले मंगलबार बिहानैदेखि आन्दोलन गरेका हुन् ।
मरासिनीका आफन्तजनहरूले अस्पतालको लापर्बाहीका कारण ज्यान गएको बताएका छन् । प्रशंसालाई पेट दुख्ने, वान्ता हुने लगायतका समस्या भई गुल्मी अस्पताल तम्घासमा उपचार गरिएको थियो । बेलुका भ्याइनभ्याइ उपचार गरिएकामा मंगलबार बिहान मृत्यु भएको गुल्मी अस्पतालका अस्पताल व्यवस्थापन अधिकृत असिम चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मृतकका बाबु तथा आफन्तले चिकित्सकको लापर्बाहीले गर्दा मृत्यु भएको भन्दै अस्पताल घेराउ गर्दै आएका थिए । लापर्बाही गर्नेलाई कडा कारबाही गर्न आफन्तको माग छ । जिल्ला प्रशासनमा पीडित पक्षसमेतको सहभागितामा बसेको सर्वपक्षीय बैठकले घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिले यथार्थ छानबिन गरी सत्यतथ्य बाहिर आउने गुल्मी अस्पतालले जनाएको छ ।
