
निराज रानाभाट, ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिका -५, टिकाथली ( बुद्ध पार्टी प्यालेससँगै ) मा २ रोपनी ( ३० आना ) क्षेत्रफलमा व्यवस्थित रूपमा ‘ भाजु तरकारी तथा फलफूल बजार ’ बिहीबारदेखि उद्घाटन गरेर सञ्चालनमा आएकाे छ। महालक्ष्मी नगरपालिकाकै पहिलो र एकमात्रै व्यवस्थित तरकारी बजारमा ७० वटा स्टल तथा सटर रहेका छन ।
१ करोडको लगानीमा टिकाथलीमा उक्त बजार सञ्चालनमा आएको छ । ‘सस्तोमा उपभोक्ताहरुलाई सहजै ताजा तरकारी उपलब्ध गराउन, कृषकहरुको मेहनतअनुसार मूल्य दिन, कृषक र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी बिचौलियाहरुलाई निषेध गर्न र महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएका तरकारी तथा फलफूहरुलाई नगरपालिकाभित्रै खपत गर्ने गरी बजार यो तरकारी तथा फलफूल बजार खोलिएको’, संचालक आदिल महर्जनले बताए ।

‘साना किसान, साना व्यापारीहरु र उपभोक्ताहरुलाई सहज बनाउनको लागि तरकारी बजार सञ्चालनमा ल्याएको महर्जनले बताए । उनले वैदेशिक रोजगारीमा जाने भन्दा पनि नेपालमा नै केही गरौँ भन्ने उद्देश्यले बजार स्थापना गरिएको बताए । सञ्चालक महर्जनले अहिले ४० प्रतिशत भन्दा बढी स्टलहरु तरकारी तथा फलफूल पसलको लागि बुक भएको बताए ।
महालक्ष्मी नगरपालिका भित्र बस्ने उपभोक्ताहरुले ३ किलोमिटर तरकारी किन्न जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्य बजार स्थापना गरिएको उनले बताए। यो बजारले पक्कै किसान र उपभोक्ता दुबैलाई सँगै जोड्ने र यस क्षेत्रका सबै उत्पादनहरुले बजार पाउने कुरामा आफू विश्वस्त रहेको उनले बताए । साथै महर्जनले १ महिनाको लागि स्टल चार्ज समेत नलिने भएकोले स्टल राख्नेहरुलाई समेत सहयोग मिल्ने बताए ।
त्यसैगरी, कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएका तरकारीहरु स्थानीय बजारमा नै बिक्री – वितरण गर्नुपर्ने बताए। उनले नगरपालिका भित्र उत्पादन भएको तरकारीहरु स्थानीय बजारमा नै बिक्री – वितरण गरी किसानहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएको तरकारीले नपुग्ने अवस्था भए मात्रै बाहिरबाट तरकारी नल्याउन आग्रह गरेका छन ।
प्रमुख श्रेष्ठले महालक्ष्मी नगरपालि भित्र उत्पादन भएको तरकारी नगरपालिका भित्रको बजारमा बिक्री – वितरण गर्दा स्थानीय तरकारी कृषकहरुले बाहिर बजार खोज्न जान नपर्ने अवस्था बन्ने बताए । उनले नगरपालिका भित्र उत्पादन भएको तरकारी नगरपालिका भित्रै खपत गर्ने वातावरण बनाउन नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए । श्रेष्ठले नगरपालिका भित्र उत्पादन भएको तरकारी भन्दा बाहेक नबेच्न आग्रह समेत गरेका छन ।
उनले महालक्ष्मी नगरपालिकाले डिजिटल ढक तराजु ५० प्रतिशत अनुदानमा दिने गरेको भन्दै भाजु फलफूल तथा तरकारी बजारमा बिक्री गर्ने ६ जनालाई डिजिटल ढक तराजु उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । एक जना व्यक्तिले यसरी कृषि बजार नै संचालनमा ल्याउन खोजेकोमा आफूलाई निकै खुशी लागेका उनलेे बताए ।
विगतका वर्षहरुमा नगरपालिकाले किसानलाई उत्पादनमा लगानी त गरेको, तर किसानको बजारको समस्या भइरहेको आफूले समेत महशुस भएको श्रेष्ठले बताए । यो बजार स्थापना भएसँगै किसानको उत्पादनले बजार पाउने निश्चित भएको र यस बजारमा विषादी कम भएको र स्वास्थ्यमा असर नपर्ने उत्पादनहरु स्टलमा राखिनुपर्ने उनले सुझाएका छन ।
त्यस्तै, महालक्ष्मी नगरपालिकाकी नगर उप – प्रमुख लक्ष्मी महर्जनले विभिन्न निति तथा कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषि बजारहरुमा सहयोग गरिरहने जानकारी दिइन् । कृषक दाजुभाइ तथा दिदी बहिनीहरुले यसरी कृषि बजार पाइसकेपछि आम्दानी गर्न र आफूले उत्पादन महत्वपूर्ण संबाहक हुने समेत उनले विश्वस्त दिलाइन् ।
यसैगरी, महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कपिल के.सी. ले यसरी किसानकै आसपासमा यसरी बजार संचालनमा आउनुले कृषि र पशु क्षेत्रमा दिएका अनुदान खेर नजाने र यहाँका उत्पादनलाई यो बजारले प्राथमिकतामा राख्नुपर्ने बताए ।
यस्तै, टिकाथलीमा तरकारी बजार सञ्चालनमा आएसँगै उक्त क्षेत्रका उपभोक्ताहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले तरकारी किन्नको लागि ३ किलोमिटर टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।
