नक्कली सरकारी कार्यालय खोलेर उपसचिवसम्मका पद, १५ लाख रुपैयाँभन्दा धेरै ठगी

Deurali Darshan Media
Deurali Darshan Media 35 Views 1 Min Read

काठमाण्डाै – जिल्ला प्रहरी परिसर काठमाण्डौले अनौठो तरिकाले ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । नक्कली सरकारी कार्यालय खोलेर, नक्कली कर्मचारी बनेर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

कृषि मन्त्रालयअन्तर्गतको ‘खाद्य सुरक्षा कार्यक्रम’ को नक्कली कार्यालय खोलेर ठगेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको मेलम्चीका घनश्याम कटुवाल र मकवानपुरको बाग्मती गाउँपालिकाका लीला भोलोनलाई पक्राउ गरेको हो ।

उनीहरूले काठमाण्डौको नारायणस्थानमा दुई तले पक्की घर भाडामा लिएर नक्कली सरकारी कार्यालय खोली नक्कली शाखा अधिकृतदेखि उपसचिवसम्मको ‘नेमप्लेट’ राखेका थिए । ‘नेमप्लेट’ मा घनश्यामले उपसचिव जयराम केसी लेखेका थिए । उनीहरूले १५ लाख रुपैयाँभन्दा धेरै ठगी गरेका प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसएसपी दानबहादुर कार्कीका अनुसार उनीहरूले फर्निचर खरिदका लागि टेन्डर आह्वान गरेर एकपटक उधारोमा सामान लिइसकेको अनुसन्धानबाट थाहा भएको छ ।

कार्यालयमा ‘कर्मचारी भर्ना’ को आवरणमा पनि उनीहरूले ठगेको भेटिएको छ । यसै घटनामा बाँकी दुई जना भने फरार रहेका छन् ।