
बुटवल :- आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज शनिबार बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले क्यापिटलको सुन्धारास्थित कार्यालयमा बिहान ११ बजे आईपीओ बाँडफाँड गरेको हो ।

सीडीएसका अनुसार यसमा असार २५ गते अन्तिम दिनसम्ममा १२ लाख ९० हजार ७४१ जनाले १ करोड ५७ लाख ८७ हजार १५० कित्ताका आवेदन दिएका छन् । यो मागभन्दा १.६४ गुणा बढी आवेदन हुन आउँछ ।
जसमा ११ लाख ८८ हजार ९९६ आवेदकबाट परेको कुल १ करोड ४३ लाख ७२ हजार ५७० कित्ता सेयर सदर भएको छ भने ६ हजार ९३६ आवेदकबाट परेको १ लाख ३२ हजार ८२० कित्ता सेयर बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण यसमा गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। आईपीओमा २ लाख २८ हजार ९९६ आवेदकको हात खाली भएको छ।
कम्पनीले गत असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लािग आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।
जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरि बाँडफाँड गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो । आईपीओको अन्तिम नतिजा केहीबेरमा हेर्न सकिनेछ।
आईपीको नतिजा हेर्नका लागि
१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.civilcapitalmarket.com/
२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/
