
दमौली:- ऋषिङ गाउँपालिका-८ ऋषिङमा रहेको शिव सरस्वती माविका प्रधानाध्यापकको छोराको बिहेमा जानको लागि आईतवार उक्त विद्यालय बन्द गरिएको छ।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालको छोराको बिहेमा जन्ती जानको लागि विद्यालय व्यवस्थापन समितिको निर्णयबाट आईतवार एकदिनको लागि विद्यालयमा बिदा दिईएको एक शिक्षकले बताए। एक अभिभावकले पनि प्रधानाध्यापकको छोराको बिहे भएको कारण विद्यलय बिदा दिईएको बताए।

विद्यालयका लेखापाल महेन्द्रकुमार श्रेष्ठले स्थानीय बिदाबाट कट्टा हुने गरि आज एकदिनको लागि बिदा दिईएको बताए। विद्यालय व्यवस्थापन समितिको निर्णयबाट नै बिदा दिईएको उनले बताए। विद्यालयमा बिदा दिएर सबै शिक्षकहरु बिहेमा जन्ती गएका छन्।
ऋषिङ गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भरतकृष्ण श्रेष्ठले आफुलाई पनि हेडसरको छोराको बिहेमा निम्तो आएकोले निम्तोमान्न हिडेको बताए। हेडसरको छोराको बिहेको कारण विद्यालय बिदा दिएको बारेमा आफुले पनि अभिभावकहरुबाट थाह पाएको भन्दै वडा अध्यक्ष श्रेष्ठले यसबारेमा विद्यालय प्रशासनले आफुलाई कुनै जानकारी नदिएको बताए।
वडा अध्यक्ष पनि विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य हुने भन्दै उनले बिदा दिने बारेमा आफुसँग कुनै छलफल नभएको श्रेष्ठले बताए। वडामा फर्किएपछि यसबारेमा विद्यालय प्रशासनसँग स्पष्टीकरण लिने वडा अध्यक्ष श्रेष्ठले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले आईतवारको बिदालाई व्यवस्थापन समितिले निर्णय नगरेको बताए।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले आईतवारको बिदालाई व्यवस्थापन समितिले निर्णय नगरेको बताए।
गाउँ पालिकाले हरेक विद्यालयलाई वर्षको ५ दिन स्थानीय बिदा दिनसक्ने अधिकार दिएको र त्यस मध्ये ४ दिनको बिदा यस अघिनै व्यवस्थापन समितिले निर्णय गरेर विद्यालयको बार्षिक क्यालेन्डरमा समावेश गरिसकेको र बांकी १ दिनको बिदा विद्यालय प्रशासनलाई भैपरी आउने बिदाको रुपमा प्रयोग गर्ने सुविधा दिएकोमा उक्त बिदालाई आज हेडसरको छोराको बिहेको दिन नै उपयोग गरेको हुनसक्ने अध्यक्ष श्रेष्ठले बताए ।यसबारेमा आफुले चाडै नै व्यवस्थापन समितिको आकस्मिक बैठक राखेर जानकारी माग्ने श्रेष्ठले बताए ।
