
गुल्मी:- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।
मंगलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।आईओसीले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गर्दछ। जसअनुसार मंगलबार आईओसीले निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो। सोही अनुसार सञ्चालक समिति बैठकले मंगलबार राति डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।

