कोसी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोलनले लियाे उग्ररुप

Deurali Darshan Media
Deurali Darshan Media 417 Views 1 Min Read

झापा:-पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुवै तर्फका गरेर एक दर्जन घाइते भएका छन् । कोसी प्रदेश नाम खारेजीको माग राख्दै मंगलबार पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो ।

झडपका क्रममा प्रहरीतर्फ दशजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामा, दुई प्रहरी निरीक्षकसहित दश प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको दमकका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्थिति तनावपूर्ण भएपछि भिड तितरबितर बनाउन प्रहरीले १९ सेल अश्रुग्यास, पाँच राउन्ड ब्ल्यांक फायर र एक राउन्ड हवाई फायर गरेको रिजालले जानकारी दिए ।

प्रहरीसँगको क्रममा १२ जना आन्दोलनकारी घाइते भएका छन् । पहिचानवादी नेता ताङ्साङ् लावतीका अनुसार दुईजनाको अवस्था गम्भीर छ ।

प्रहरीले चलाएको गोलीको छर्रा लागेर दीक्षा क्षेत्री र गजेन्द्र फागो गम्भीर घाइते भएको उनले बताए । घाइते दुईजनाको दमकका अस्पतालमा प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको छ । अहिले दमक सामान्य अवस्थामा फर्किएको छ । प्रदेश सभाले प्रदेशको नाम कोसी राखेयता कोसी प्रदेश अशान्त छ । आन्दोलनका क्रममा पदम लिम्बूले ज्यान गुमाइसकेका छन् । पहिचान पक्षधरहरूले कोसी नाम खारेज गरी पहिचानको आधारमा नाम राख्नु पर्ने भन्दै आन्दोलन गर्दै आएका छन् ।