
पोखरा :- पोखराका व्यवसायी वलराम गौतम शनिबार बिहान मृतावस्थामा भेटिएका छन् । माघ २ गते घरबाट निस्केका उनी वीरगन्जमा मृतावस्थामा भेटिएका हुन् ।
गौतममै केही दिन पहिला आफन्तलाई म्यासेज लेखेर आफू भारत रहेको जानकारी गराएका थिए । शनिबार बिहान साढे ५ बजेतिर वीरगन्ज बसपार्कसँगैको पार्कमा उनी आएको सिसिटिभी फुटेजबाट देखिएको छ ।

ओहोरदोहोर गरेपछि कुर्सीमा बसेर चिया पिएको देखिएको र त्यसलत्तै बसेकै ठाउँमा उनको टाउको झुकेको देखिएकाले हृदयाघातको अनुमान गरिएको छ ।
उनको शव पोस्टमार्टम गरेर शनिबार राति नै पोखरा ल्याइएको थियो । आइतबार तुलसीघाटमा उनको अन्त्येष्ठी गरिएको छ । सहकारी संघ पोखराका अध्यक्ष समेत रहेका व्यवसायी गौतम नेकपा एमाले गण्डकी प्रदेश सदस्य हुन् ।
पृथ्वीनारायण क्याम्पसका पूर्वप्राध्यापक पनि हुन् । कास्की पुरनचौरका गौतम पत्नी गीता र ३ छोरी सहित पोखरा गैरापाटनमा बस्दै आएका थिए ।
